पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र तरुण खबर २६ भाद्र २०८२, बिहीबार ०९:३६
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

काठमाडाैं, २६ भदाै । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका-२, राक्से भन्ने स्थानमा सडक माथिबाट ठूलो पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार, पहिरो पन्छाउन प्रहरी टोली बिहानैदेखि खटिए पनि लगातार वर्षा भइरहेकाले काम गर्न समस्या भएको छ। सडक अवरुद्ध भएपछि पर्वत, बागलुङ, पाल्पा र बुटवलतर्फ आवतजावत गर्ने सवारी साधनहरू बाटोमै रोकिएका छन्।

वर्षा रोकिएलगत्तै सडक खुलाउनका लागि स्थानीय निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले आवश्यक उपकरण तयारी अवस्थामा राखेको प्रहरीले जनाएको छ। यो सडकखण्डमा पहिरोका कारण पटक-पटक समस्या आउने गरेको छ।