तरुण खबर
२६ भाद्र २०८२, बिहीबार ०९:४०
काठमाडाैं, २६ भदाै । शान्ति सुव्यवस्था कायम राख्न र सम्भावित अशान्तिलाई नियन्त्रणमा लिनका लागि सुर्खेत जिल्ला प्रशासन कार्यालयले जिल्लाका केही प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। आज बिहान ८:३० बजेदेखि साँझ ६ बजेसम्म पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार प्रयोग गर्दै यो कदम चालेका हुन्। यो निर्णयले आज दिनभर सुर्खेतको जनजीवनमा केही प्रभाव पार्ने देखिएको छ।
प्रशासनद्वारा जारी सूचनाअनुसार, निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा वीरेन्द्रनगरको सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्मको रत्न राजमार्गको उत्तरतर्फको पूरै उपत्यका क्षेत्र पर्दछ। यस क्षेत्रमा मानिसहरूको अनावश्यक आवागमनमा कडाइ गरिएको छ।
यसअघि पनि देशका अन्य भागमा जस्तै सुर्खेतमा पनि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यो कदम चालेको हो। यसले गर्दा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ।


