गठबन्धन सरकारकै कारण जनताको आक्रोश चुलियो: प्रचण्ड

गठबन्धन सरकारकै कारण जनताको आक्रोश चुलियो: प्रचण्ड तरुण खबर २६ भाद्र २०८२, बिहीबार ०९:५४
गठबन्धन सरकारकै कारण जनताको आक्रोश चुलियो: प्रचण्ड

काठमाडाैं, २६ भदाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमाले नेतृत्वको गठबन्धन सरकार स्वार्थ समूहहरूको सेवामा लागेकै कारण जनताको आक्रोशले चरम रूप लिएको आरोप लगाएका छन्।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद रूपमा तपाईँ-हामीसामु देखिएको छ।’

उनले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा आफ्नो नेतृत्वको सरकारले चालेका कदमबाट आत्तिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकाले जनआक्रोश चुलिएको बताए।

अध्यक्ष प्रचण्डले ‘जेनजी’ पुस्ताले भ्रष्टाचारविरुद्ध सुरु गरेको आन्दोलन सही भए पनि सरकारले त्यसलाई बर्बरतापूर्वक दमन गरेको आरोप लगाए। उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सरकारले आन्दोलनलाई कुल्चने प्रयास गरेको समेत बताएका छन्।