तरुण खबर
२६ भाद्र २०८२, बिहीबार १०:०५
काठमाडाैं, २६ भदाै । ‘जेन-जी’ को प्रदर्शनपछि देशका विभिन्न कारागारबाट १३ हजारभन्दा बढी कैदीबन्दी फरार भएका छन्। उनीहरूले कारागार तोडफोड, आगजनी र प्रशासनलाई दबाब दिएर भागेको पाइएको छ।
राजनीतिक र जघन्य अपराधका कैदी पनि फरार
फरार हुनेमा सहकारी ठगी प्रकरणका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने, नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित नेता टोपबहादुर रायमाझी लगायतका राजनीतिक व्यक्तिहरुसमेत छन्। यस्तै, हत्या, बलात्कार, अपहरण र मानव बेचबिखनजस्ता जघन्य अपराधमा सजाय भोगिरहेका कैदीबन्दीहरू पनि भागेपछि घटनाका पीडित परिवारमा त्रास बढेको छ।
प्रमुख कारागारहरूबाट भागेका कैदीबन्दीको विवरण
सुरक्षाकर्मीद्वारा खोजी कार्य जारी
केही स्थानमा भने कैदीबन्दी आफैँ कारागार फर्किएका छन् भने कतिपयलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले फरार कैदीबन्दीको खोजी कार्यलाई तीव्रता दिएका छन्। कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार फरार कैदीबन्दीको यकिन तथ्याङ्क संकलन कार्य जारी छ।
यसैबीच, बाल सुधारगृहमा गोली चल्दा ५ जना बालबालिकाको मृत्यु भएको खबर आएको छ। यद्यपि, यसको विस्तृत जानकारी आउन बाँकी छ।


