सामुदायिक सहयोगमा प्रहरी चौकीहरूको पुनर्निर्माण

सामुदायिक सहयोगमा प्रहरी चौकीहरूको पुनर्निर्माण तरुण खबर २७ भाद्र २०८२, शुक्रबार ११:०१
सामुदायिक सहयोगमा प्रहरी चौकीहरूको पुनर्निर्माण

काठमाडाैं, २७ भदाै । जेन्जी आन्दोलनको समयमा तोडफोड, आगजनी र लुटपाटबाट ध्वस्त भएका प्रहरी चौकीहरूको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्थानीय समुदायले पहल थालेका छन्। ललितपुरमा एक प्रहरी चौकीलाई स्थानीयले पुनःस्थापित गरेपछि देशभर यस्तो सकारात्मक लहर चलेको छ।

आन्दोलनकारीले प्रहरी चौकीका भौतिक संरचनाका साथै त्यहाँ रहेका सम्पूर्ण सरसामान, महत्त्वपूर्ण कागजात, हतियार, पोशाक र अन्य बन्दोबस्तीका सामानहरूमा समेत क्षति पुर्‍याएका थिए। ध्वस्त भएका भवनहरूका झ्यालढोका जलेका छन् भने भित्ताहरू भत्काइएका छन्।

यस्तो विषम परिस्थितिमा स्थानीय सरकार, टोल विकास समिति र नागरिकहरू एकजुट भएर प्रहरीलाई सहयोग गर्न अघि बढेका छन्। उनीहरूले आफ्नो बजेट, कोष र चन्दा संकलन गरी चौकीहरूको मर्मतसम्भारका साथै आवश्यक फर्निचर, कम्प्युटर र सञ्चार उपकरणहरू जुटाउन थालेका छन्।

यो प्रयासले देशभरका अस्तव्यस्त भएका प्रहरी चौकीहरूलाई पूर्ववत् अवस्थामा फर्काउन र सुरक्षा व्यवस्थालाई सुदृढ पार्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस किसिमको सामुदायिक सहयोगको लहर देशैभर फैलँदै गएको छ, जसले जनता र प्रहरीबीचको सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत गरेको छ।