तरुण खबर
२७ भाद्र २०८२, शुक्रबार ११:२१
काठमाडाैं, २७ भदाै । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समितिका प्रमुख सदस्य, सिनेटर जीन शाहिन (Jeanne Shaheen) र भ्यान होलेन (Van Hollen) ले नेपालमा हालै भएको आन्दोलनका क्रममा भएको हिंसाको निन्दा गर्दै एक संयुक्त विज्ञप्ति जारी गरेका छन्। सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र आर्थिक असमानता तथा भ्रष्टाचारप्रतिको जनआक्रोशका कारण सुरु भएको प्रदर्शनमा सयौं नागरिक घाइते भएको र २० जनाभन्दा बढीको मृत्यु भएको खबरहरू आएपछि उनीहरूले यो वक्तव्य दिएका हुन्।
उक्त विज्ञप्तिमा भनिएको छ, “नेपालमा हालैका दिनहरूमा भएका हिंसा, जनधनको क्षति र विनाश अस्वीकार्य छन्। हामी पीडित र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गर्दछौं।” उनीहरूले सबै पक्षलाई संयम अपनाउन र नागरिकमाथि बल प्रयोग गर्नेमाथि पूर्ण जवाफदेही बनाउन आग्रह गरेका छन्।
विज्ञप्तिमा नेपालले विगत दुई दशकमा महत्त्वपूर्ण प्रजातान्त्रिक उपलब्धि हासिल गरेको र शान्तिपूर्ण भेला तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारसहित ती कडा संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जोगाउनुपर्नेमा जोड दिइएको छ। “शान्तिपूर्ण, प्रजातान्त्रिक र स्थिर नेपाल आफ्ना जनता, संयुक्त राज्य अमेरिका र यस क्षेत्रकै हितमा छ,” विज्ञप्तिमा उल्लेख छ।
अन्तमा, भ्रष्टाचार र संस्थागत कमजोरीहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको र यसले सार्वजनिक विश्वासलाई कमजोर पारेको पनि विज्ञप्तिमा जनाइएको छ।



