तरुण खबर
२९ भाद्र २०८२, आईतवार ०८:३७
काठमाडाैं, २९ भदाै । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका कारण देशभरका अधिकांश प्रहरी चौकीहरूमा ठूलो क्षति पुगेको छ । आन्दोलनकारीको निशानामा परेका यी चौकीहरूमा आगजनी र लुटपाट भएको थियो, जसले करोडौंको भौतिक क्षति निम्त्याएको छ । यद्यपि, प्रहरी जवानहरूले ध्वस्त भएका भवनहरूबाटै नागरिकलाई सेवा दिन थालेका छन् ।
शनिवार, दरबारमार्ग प्रहरी चौकीमा पुग्दा प्रहरी जवानहरू जलेका गाडी र अन्य सामानहरू पन्छाउँदै सरसफाइमा व्यस्त थिए । आन्दोलनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएको यो भवनबाटै उनीहरूले सेवा प्रवाह गरिरहेका छन् । यो उनीहरूको कर्तव्य पनि हो ।
ट्राफिक प्रहरी कार्यालय, दरबारमार्ग पनि पुनः सञ्चालन गर्ने तयारी सुरु भएको छ । प्रहरीहरूले बिहानैदेखि आफै सरसफाइमा खटेर काम गरिरहेका छन् । एक प्रहरी अधिकारीका अनुसार, आगजनीका कारण कार्यालयमा रहेका पोशाक, मोटरसाइकल, गाडीहरू सबै जलेर नष्ट भएका छन् । उनीहरूलाई तत्काल पोशाकको आवश्यकता छ ।
‘कमसे कम अरू चिज पछि भए पनि हुन्छ, तर ड्रेस तत्काल आवश्यक छ’, एक प्रहरी अधिकारीले बताए । ‘कार्यालय सञ्चालन सुरु गरेका छौँ तर पूर्ण रूपमा व्यवस्थित गर्न अझै समय लाग्नेछ,’ उनले थपे ।
आन्दोलनले ध्वस्त बनाएका यी चौकीहरूको पुनर्निर्माणका लागि सरकारी र स्थानीयवासीको सहयोग आवश्यक छ । जनताको सेवा र हितका लागि जोखिमपूर्ण अवस्थामा रहेका यी जलेका भवनहरूबाटै सेवा दिन बाध्य भएको सुरक्षाकर्मीहरूले जनाएका छन् । यसरी, जेन जी आन्दोलनले ध्वस्त बनाएका प्रहरी चौकीहरूलाई सरसफाइ गरी पुनः सञ्चालनमा ल्याउने काम जारी रहेको छ ।


