तरुण खबर
२९ भाद्र २०८२, आईतवार ०८:४५
काठमाडाैं, २९ भदाै । देशमा जेन जी आन्दोलन चर्किएका बेला प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको निवासमा ठूलो परिमाणमा नगद जलेको खबर बाहिर आएको छ । सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घरमा पैसा राख्नका लागि विशेष कोठाहरू बनाइएको देख्न सकिन्छ ।
आन्दोलनकारीको आक्रमणबाट यी कोठाहरूमा राखिएको करोडौंको नगद जलेर खरानी भएको अनुमान गरिएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा भने कसैलाई पनि प्रवेश गर्न नदिएको कारण त्यहाँको क्षतिको अनुमान गर्न कठिन छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालको घरमा ६ फुट लामो, ४ फुट फरालो र १० फुट अग्लो कोठामा पैसा राखिएको थियो । यस कोठामा पूर्णरूपमा नोटहरू भरिएको भए ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको नगद अट्न सक्थ्यो । तर, खरानीको थुप्रो हेर्दा त्यहाँ २ देखि ३ अर्ब रुपैयाँ बराबरको नगद रहेको अनुमान गरिएको छ । ती नोटहरू १००० दरका मात्र नभएको र पुराना नोटहरू पनि हुन सक्ने भएकाले वास्तविक मूल्य केही कम हुन सक्ने अनुमान गरिएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका सभापति देउवाको घरमा भने पैसा राख्नको लागि छुट्टै कोठा नभएर एक स्टोर रुम प्रयोग गरिएको देखिन्छ । करिब १५० वर्ग फुट क्षेत्रफल भएको यस कोठाको दराजहरूमा नोट राखिएको थियो । दाहालको घरको तुलनामा देउवाको घरमा कम नगद रहेको अनुमान गरिएको छ, यद्यपि करोडौंको रकम जलेको देखिन्छ । देउवाको घरमा भूमिगत पानी ट्याङ्कीजस्तो देखिने एउटा सानो खाल्डो पनि भेटिएको थियो तर त्यहाँ बालुवाबाहेक अरू केही फेला परेन ।
यसैगरी, ऊर्जामन्त्री दीपक खड्काको घरबाट पनि बोरामा राखिएको पैसा हावामा उडेको भिडियोहरू सार्वजनिक भएका छन् । आन्दोलनकारीले पैसा बाहिर ल्याएर उडाएको खबर आए पनि त्यहाँ छुट्टै पैसा राख्ने कोठा भेटिएको छैन ।


