तरुण खबर
२९ भाद्र २०८२, आईतवार ०८:५८
काठमाडाैं, २९ भदाै । आज राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सबै नेपाली बालबालिका र अभिभावकहरूलाई शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको संविधानले बालबालिकाको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको बताएका छन्। बालबालिकासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाहरूलाई एकीकृत र समन्वयात्मक भूमिका निर्वाह गर्न राष्ट्रपतिले आह्वान गरेका छन्।
राष्ट्रपति पौडेलले अझै पनि केही बालबालिकाहरू अधिकारबाट वञ्चित भइरहेको र उनीहरूमाथि अमानवीय व्यवहार, हिंसा र दुर्व्यवहार हुने गरेको उल्लेख गर्दै यसलाई रोक्न सबैको जिम्मेवारी रहेको बताएका छन्।
भदौ २९ गते नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धि (सीआरसी) लाई अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय बाल दिवस मनाइन्छ। यस वर्षको बाल दिवसको नारा ‘बालबालिकामा लगानी: सुरक्षित भविष्यको सुरुवात’ रहेको छ।
यस दिनले समाज र राज्यलाई बालबालिकाको हितलाई प्राथमिकता दिई सचेत भएर काम गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले रचनात्मक, व्यावहारिक, निःशुल्क र गुणस्तरीय शिक्षा, पौष्टिक आहार, सुरक्षित खानेपानी, सरसफाइ, आवश्यक खोप र बालमैत्री स्वास्थ्य संस्थाहरूको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। उनले बालबालिकाको समग्र हितका लागि नीतिगत, कानुनी र बालमैत्री उपायहरू अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
‘यो दिनले घर, विद्यालय र समुदायमा बालबालिकाका लागि सुरक्षित वातावरण सिर्जना गरी सबै समूह र समुदायका बालबालिकालाई समान अवसर सुनिश्चित गर्न सहयोग पुग्नेछ,’ उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।


