तरुण खबर
२९ भाद्र २०८२, आईतवार १०:१२
काठमाडाैं, २९ भदाै । दशैँको चहलपहल सुरु भएसँगै यस वर्षको दशैँका लागि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैँमा घर फर्कने यात्रुहरूको सहज र सुरक्षित यात्राका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायतका प्रतिनिधिहरूसँग छलफल गरी यो निर्णय गरेको हो ।
दशैँमा यात्रुहरूको अत्यधिक भीडलाई व्यवस्थित गर्न अग्रिम टिकट प्रणाली महत्त्वपूर्ण हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । उनका अनुसार, यात्रुहरूलाई सहज होस् भनेर यस वर्ष अनलाइन र उपत्यकाका विभिन्न स्थानमा बुथ बनाएर टिकट बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।
यस प्रकारको व्यवस्थापनले दशैँको समयमा हुने ट्राफिक जाम र सडक दुर्घटनाहरूलाई कम गर्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यातायात व्यवसायीहरूलाई सबै सुरक्षा उपायहरू सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ ।


