विद्यालय तथा क्याम्पसहरूमा पठनपाठन पुनः सुरु, यातायात र कार्यालयहरू पनि खुल्ने

विद्यालय तथा क्याम्पसहरूमा पठनपाठन पुनः सुरु, यातायात र कार्यालयहरू पनि खुल्ने तरुण खबर २९ भाद्र २०८२, आईतवार १०:१६
विद्यालय तथा क्याम्पसहरूमा पठनपाठन पुनः सुरु, यातायात र कार्यालयहरू पनि खुल्ने

काठमाडाैं, २९ भदाै । जेन जी आन्दोलनका कारण गत भदौ ९ गतेदेखि बन्द भएका विद्यालय र क्याम्पसहरू आजदेखि पुनः सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाका सबै शैक्षिक संस्थाहरूलाई पठनपाठन सुचारु गर्न आग्रह गरेपछि यो निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा लामो तथा छोटो दुरीका सार्वजनिक यातायात सेवा पनि सुचारु गर्न यातायात व्यवसायीहरूलाई आग्रह गरिएको छ । जिल्लाको जनजीवन सामान्यतर्फ फर्किएकाले सबै सार्वजनिक कार्यालयहरूलाई पनि आजैदेखि सेवा सुरु गर्न निर्देशन दिइएको छ ।

आन्दोलनका क्रममा तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त भएका कार्यालयहरूका कर्मचारीहरूले सरसफाइ गर्ने काम गरिरहेका छन् । यसका लागि आवश्यक थप जनशक्तिको व्यवस्थापन जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर गरिनेछ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति पुनःस्थापना गर्ने र खानेपानी कार्यालयले खानेपानीको आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी लिएका छन् ।

जेन जी आन्दोलनले पुर्‍याएको क्षतिको मूल्यांकन गर्न गठित समितिले काम सुरु गरिसकेको छ । सबै कार्यालयहरूलाई आ-आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी अभिलेख राख्न पनि निर्देशन दिइएको छ ।