तरुण खबर
३० भाद्र २०८२, सोमबार १०:११
काठमाडाैं, ३० भदाै । राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा अब राति १० बजेपछि साना पसल तथा मदिरा पसलहरू सञ्चालन गर्न नपाइने भएको छ। ठमेल पर्यटन विकास परिषद्ले यो निर्णय सुरक्षा व्यवस्थालाई मजबुत बनाउन गरेको हो।
परिषद्ले रातिको समयमा चोरी, लुटपाट र झैंझगडाका घटना बढ्दै गएको र यसले सुरक्षामा चुनौती थपेको जनाएको छ। राति अबेरसम्म सडकमा हुने अनावश्यक भीडभाड र अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि समयसीमा तोकिएको परिषद्ले जनाएको छ।
लामो समयदेखि ठूला व्यवसायहरूले रातभर खुला रहने साना मदिरा पसल र ठेलागाडाका कारण आफ्नो व्यवसायमा नकारात्मक असर परेको गुनासो गर्दै आएका थिए। पर्यटन सिजन सुरु हुनुअघि नै ठमेललाई सुरक्षित र व्यवस्थित बनाउन यो कदम चालिएको परिषद्ले बताएको छ। परिषद्ले सबै व्यवसायीलाई यो नियम पालना गरी सहयोग गर्न आग्रह गरेको छ।


