तरुण खबर
३१ भाद्र २०८२, मंगलवार १०:३४
काठमाडाैं, ३१ भदाै । असोज महिनाको लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार मुद्दति निक्षेपमा दिइने औसत ब्याजदरमा कमी देखिएको छ। भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ०.११ प्रतिशतले घटेको छ।
ब्याजदरको अवस्था
भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा वाणिज्य बैंकहरूको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोजमा घटेर ५.४६३५ प्रतिशतमा झरेको छ। यसैगरी, संस्थागत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर पनि ३.९६३ प्रतिशतबाट घटेर ३.८७४५ प्रतिशतमा आइपुगेको छ।
कुन बैंकको घट्यो, कसको बढ्यो?
२० वाणिज्य बैंकमध्ये ९ वटा बैंकले ब्याजदर घटाएका छन् भने ९ वटाले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी २ वटा बैंकले भने ब्याजदर बढाएका छन्।
ब्याजदर घटाउने बैंकहरूमा प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतले घटाएका छन्। त्यसैगरी, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकले ०.२५ प्रतिशत र कुमारी बैंकले ०.२ प्रतिशतले ब्याजदर घटाएका छन्।
यसको विपरीत, लक्ष्मी सनराइज बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.०५ प्रतिशतले ब्याजदर वृद्धि गरेका छन्।
स्थिर रहने बैंकहरू
प्रभु बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक र हिमालयन बैंकले भने भदौ महिनाकै व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको ब्याजदरलाई यथावत राखेका छन्।


