झुम्का कारागारबाट भागेका ७०५ कैदीबन्दी पक्राउ

झुम्का कारागारबाट भागेका ७०५ कैदीबन्दी पक्राउ तरुण खबर ३१ भाद्र २०८२, मंगलवार ११:००
झुम्का कारागारबाट भागेका ७०५ कैदीबन्दी पक्राउ

काठमाडाैं, ३१ भदाै । जेनजी प्रदर्शनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका १,५७२ जना कैदीबन्दीमध्ये ७०५ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले सोमबार साँझसम्म यो संख्याका कैदीबन्दी पक्राउ परिसकेको जानकारी दिएका छन्।

भदौ २४ गते राति करिब १०० जनाको संख्यामा आएका प्रदर्शनकारीले कारागारमा क्षति पुर्याउन थालेपछि कैदीबन्दीहरू भागेका थिए। कारागार बाहिरबाट प्रदर्शनकारीको दबाब र भित्रबाट कैदीबन्दीहरूले आगो लगाउने धम्की दिएपछि थप क्षति हुन नदिन प्रशासनले सुरक्षा व्यवस्था खुकुलो पारेको उपरीक्षक तिम्सिनाले बताए।

कारागारका दुई ब्लकमध्ये एउटा ब्लकका २२७ जनाबाहेक अन्य १,५७२ जना कैदीबन्दी भागेका थिए। भागेकामध्ये ६५ जना भारतीय नागरिक पनि रहेका छन्। पक्राउ परेका बाहेकका अन्य कैदीबन्दीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।