तरुण खबर
३१ भाद्र २०८२, मंगलवार ११:०५
काठमाडाैं, ३१ भदाै । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकहरूका लागि भिजिट भिसामा अस्थायी रूपमा रोक लगाएको छ। यद्यपि यससम्बन्धी कुनै औपचारिक सूचना नेपाली दूतावासमा नआएको भए पनि यूएईका अधिकारीहरूसँगको अनौपचारिक कुराकानीमा यो निर्णय सोमबार (सेप्टेम्बर १५) देखि लागू भएको पुष्टि भएको छ।
भिसा रोक्नुको कारण नेपालमा हालै भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटसँग सम्बन्धित अनुसन्धान हुन सक्ने बुझिएको छ। यसका साथै हालै झुम्का कारागारबाट कैदीबन्दी भागेको घटनालाई पनि यूएईले कडा कदम चाल्नुको अर्को कारण मानिएको छ।
स्मरण रहोस्, नेपालीहरू भिजिट भिसामा सबैभन्दा धेरै जाने गन्तव्य यूएई हो। लामो समयदेखि दलालहरूले भिजिट भिसाको दुरुपयोग गरी नेपाली महिलाहरूलाई कुवेत, ओमान र बहराइन जस्ता देशहरूमा घरेलु कामदारको रूपमा पठाउने गरेकोले पनि यूएई अधिकारीहरू यस विषयमा सतर्क बनेका छन्।


