गण्डकीमा जेनजी आन्दोलनले बीमा दावीको बाढी

गण्डकीमा जेनजी आन्दोलनले बीमा दावीको बाढी तरुण खबर १ आश्विन २०८२, बुधबार ११:१९
गण्डकीमा जेनजी आन्दोलनले बीमा दावीको बाढी

काठमाडाैं, १ असाेज । जेनजी आन्दोलनका क्रममा निजी सम्पत्तिमा भएको क्षतिको क्षतिपूर्ति दावी गर्न बीमा कम्पनीहरूमा निवेदनको ओइरो लागेको छ। नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार, गण्डकी प्रदेशमा मात्रै १ अर्ब १३ करोड ४० लाख रुपैयाँभन्दा बढीको बीमा दावी परेको छ।

प्रमुख कम्पनीमा दावी

गण्डकी प्रदेशमा अहिलेसम्म डेढ सयभन्दा बढी दावी पेश भइसकेको छ। सबैभन्दा बढी क्षतिपूर्ति दावी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ, जहाँ ९ वटा दावीमार्फत ५० करोड रुपैयाँ माग गरिएको छ।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा ५० वटा दावीका लागि ३५ करोड रुपैयाँको निवेदन परेको छ। अन्य कम्पनीहरूमा पनि करोडौं रुपैयाँको दावी परेको छ।

  • राष्ट्रिय बीमा कम्पनी: ७ करोड रुपैयाँ (२० दावी)
  • सिद्धार्थ प्रिमियर: ५ करोड रुपैयाँ (१५ दावी)
  • नेको इन्स्योरेन्स: ४ करोड ४५ लाख रुपैयाँ (१६ दावी)
  • आइजीआइ प्रुडेन्सियल: ३ करोड १५ लाख रुपैयाँ (३ दावी)
  • ओरियण्टल इन्स्योरेन्स: ३ करोड रुपैयाँ (१३ दावी)
  • सानिमा जिआइसी र युनाइटेड अजोड: २/२ करोड रुपैयाँ (११ र ६ दावी)

यस्तै, एनएलजी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्समा पनि लाखौँको दावी पेश भएको प्राधिकरणले जनाएको छ।

हाल केही कम्पनीहरूमा भने दावी परेको छैन। आन्दोलनकारीले गरेको तोडफोड र आगजनीका कारण निर्जीवन बीमा कम्पनीहरूमा अर्बौं रुपैयाँ बराबरको क्षतिपूर्ति दावी पर्ने अनुमान गरिएको छ। हाल कम्पनीहरूले क्षतिको विवरण संकलन गरिरहेका छन्।