तरुण खबर
१ आश्विन २०८२, बुधबार १२:०२
काठमाडाैं, १ असाेज । देशभर भइरहेको अविरल वर्षाका कारण दुई प्रमुख राजमार्गमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ। यसबाट सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१, गगने खोलामा गए राति ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको छ। जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार पहिरो पन्छाउन समय लाग्नेछ। यस क्षेत्रमा पटक-पटक पहिरो जाने हुँदा यात्रुहरूले सास्ती भोग्दै आएका छन्।
नारायणगढ–मुग्लिन सडकमा पनि पहिरो
यसैगरी, चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोलास्थित नारायणगढ–मुग्लिन सडकखण्डमा पनि मंगलबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार पहिरो हटाउनका लागि एक्साभेटर र अन्य मेसिनहरूको प्रयोग भइरहेको छ। सडक खुल्न करिब २ घण्टा लाग्ने अनुमान गरिएको छ।
यसैबीच, पृथ्वी राजमार्गको घोप्टे भीरमा पनि पहिरो खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ। नारायणगढ-मुग्लिन सडकको नाम्सी खोलामा खसेको पहिरो भने हटाइएको छ र उक्त खण्ड दुईतर्फी सञ्चालनमा आइसकेको छ।
पहिरो प्रभावित क्षेत्रमा अझै पनि वर्षा भइरहेकोले थप पहिरोको जोखिम उच्च छ। सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन्।


