तरुण संवाददाता
२ आश्विन २०८२, बिहीबार १५:३३
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार भएको भेटमा राजदूत सोङले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री कार्की हालै सम्पन्न जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन् । दुई दिनअघि मात्रै भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबार पुगेर कार्कीलाई बधाई दिएका थिए ।
विदेशी राजदूतमध्ये कार्कीलाई बधाई दिने चिनियाँ राजदूत दोस्रो हुन् । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले अहिलेसम्म औपचारिक रूपमा कार्कीलाई बधाई दिएका छैनन् । विदेश मन्त्रालयले भने प्रधानमन्त्री कार्कीसँग मिलेर काम गर्न तयार रहेको प्रतिक्रिया दिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने अहिलेसम्म नेपालबार पाँचचोटि बोलिसकेका छन् । तीन भाषामा प्रधानमन्त्री कार्कीलाई बधाई दिएका छन् । मणिपुरमा भएको आमसभामा नेपालमा भएको राजनीतिक परिवर्तनबारे धारणा राखेका थिए । बिहीबार प्रधानमन्त्री कार्कीसँग टेलिफोनमै कुराकानी गरेका छन् ।


