तरुण संवाददाता
३ आश्विन २०८२, शुक्रबार १५:५९
काठमाडौँ । चलचित्र ‘बलिदान’ को ‘ट्रेलर’ शुक्रबार सार्वजनिक गरिएको छ । यसअघि उक्त चलचित्रको पोस्टर, प्रि–टिजर, टिजर र गीत सार्वजनिक भइसकेको छ ।
ट्रेलरमा अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा देख्न सकिन्छ । देश भक्तिभाव झल्काउन खोजिएको उक्त चलचित्रको ट्रेलरमा कलाकार अर्पण थापा, सौगात मल्ल र हेमन्त बुढाथोकी फरक अवतारमा देखिएका छन् । मल्लले आफूलाई राक्षस बन्न बाध्य पारेको संवाद प्रस्तुत गरेका छन् । समीर र सौगातबीचको द्वन्द्व दृश्य विशेष रूपमा प्रस्तुत गरिएको छ ।
यसअघि सार्वजनिक गरिएको टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको संवाद र ऋचा शर्माको भावनात्मक प्रश्न समेटिएको छ । निर्देशक सन्तोष सेन स्वयं आदिवासी पात्रका रूपमा देखिएका छन् ।
चलचित्र ‘बलिदान’लाई बहुप्रतीक्षित नेपाली चलचित्रका रूपमा हेरिएको छ । निर्देशक सेनले यसअघि बलिदानलाई चलचित्र मात्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका थिए । यसबीचमा चलचित्रको शीर्ष गीत‘‘यो ज्यान बलिदान’ ले चर्चा बटुलिसकेको छ । सुजन चापागाईंको स्वर र सङ्गीत, हर्क साउदको शब्दमा तयार गीतले जनमानसमा चर्चा पाइरहेको छ ।
आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ । निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुनुहुन्छ । चलचित्र फूलपातीको दिन प्रदर्शनमा आउने छ ।


