तरुण खबर
५ आश्विन २०८२, आईतवार ११:१३
काठमाडाैं, ५ असाेज । नेपालमा वैदेशिक लगानीको प्रतिबद्धताले पुनः गति लिएको छ। चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो दुई महिना (साउन र भदौ) मा करिब ३३ अर्ब ९ करोड रुपैयाँ बराबरको विदेशी लगानी भित्र्याउने प्रतिबद्धता आएको छ।
उद्योग विभागले हालै जारी गरेको तथ्याङ्कअनुसार २३६ वटा परियोजनामा यो लगानी प्रतिबद्धता आएको हो। यसमध्ये साउन महिनामा २४ अर्ब रुपैयाँ र भदौमा ८ अर्ब ९८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
कृषि र सूचना प्रविधिमा विदेशीको आकर्षण
लगानीकर्ताको सबैभन्दा धेरै आकर्षण कृषि र सूचना प्रविधि (आईटी) क्षेत्रमा देखिएको छ। लगानी रकमका हिसाबले कृषि क्षेत्रमा २१ अर्ब ५९ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। ९ वटा परियोजनाका लागि यो रकम प्रतिबद्धता आएको हो।
परियोजना संख्याका हिसाबले भने आईटी क्षेत्र अग्रस्थानमा छ। १२० वटा परियोजनामा ५६ करोड २७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। आईटीका धेरैजसो परियोजना स्टार्टअप प्रकृतिका छन्।
अन्य क्षेत्रमा पनि लगानी
कृषि र आईटीबाहेक अन्य क्षेत्रमा पनि लगानी प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रका ७९ वटा परियोजनामा ६ अर्ब ६९ करोड रुपैयाँ, सेवा क्षेत्रका १५ परियोजनामा २ अर्ब ८१ करोड रुपैयाँ र उत्पादनमूलक क्षेत्रका १२ परियोजनामा १ अर्ब २४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।
यी परियोजना सञ्चालनमा आए ३३ हजार ८१४ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको अनुमान छ। हालसम्म नेपालमा ७,४७५ परियोजनाका लागि ६ खर्ब ८४ अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आइसकेको छ।


