तरुण खबर
५ आश्विन २०८२, आईतवार ११:१६
काठमाडाैं, ५ असाेज । नेपालमा घरजग्गाको कारोबार पुनः सुस्ताएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै जारी गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ महिनामा देशभरको कारोबार १३.०५ प्रतिशतले घटेको छ।
साउन महिनामा ३१ हजार ६२१ वटा घरजग्गा किनबेच भएकोमा भदौमा यो संख्या घटेर २७ हजार ४९४ मा झरेको छ। कारोबारमा आएको कमीले राजस्व संकलनमा पनि प्रत्यक्ष असर परेको छ। साउनमा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन भएकोमा भदौमा ४.५१ प्रतिशतले घटेर ३ अर्ब १४ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ।
कित्ताकाटले निम्त्याएको समस्या
विभागका अनुसार कारोबार सुस्ताउनुको प्रमुख कारण कित्ताकाटमा रहेको समस्या हो। स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको र यसले समग्र घरजग्गा बजारलाई नै प्रभावित पारेको छ। जबसम्म यो समस्या समाधान हुँदैन, तबसम्म बजारमा सक्रियता फर्कने सम्भावना कम रहेको विभागले जनाएको छ।
कुन कार्यालयमा कति कारोबार?
भदौ महिनामा सबैभन्दा धेरै लिखत पारित भएको भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा (सुनसरी) मा १ हजार ४०२ वटा रहेको छ। त्यसपछि जनकपुरधाममा १ हजार ६०, भद्रपुर (झापा) मा १ हजार २७, राजविराज (सप्तरी) मा ९३७ र भक्तपुरमा ९१८ वटा घरजग्गा किनबेच भएका छन्।
राजस्व संकलनमा भने काठमाडौं उपत्यकाका मालपोत कार्यालयहरू अगाडि छन्। सबैभन्दा बढी राजस्व ललितपुरको मालपोत कार्यालय लगनखेलले ३५ करोड २३ लाख रुपैयाँ संकलन गरेको छ। त्यसपछि भक्तपुरले २८ करोड ४२ लाख र चाबहिल (काठमाडौं) ले २६ करोड ९८ लाख रुपैयाँ संकलन गरेको छ।


