तरुण खबर
५ आश्विन २०८२, आईतवार ११:२०
काठमाडाैं, ५ असाेज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबारको अन्तिम १५ मिनेटको भारित औसत गणना गर्ने विधि हटाएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेप्सेले मंगलबारबाट लागू हुने गरी यो निर्णय गरेको हो।
नेप्सेका प्रवक्ता मुरहरि पराजुलीका अनुसार भोलि घटस्थापनाको सार्वजनिक बिदा परेकाले अबको कारोबार दिनदेखि यो विधि लागू हुने छैन। यसअघि गत चैत ७ गतेदेखि लागू गरिएको यो प्रणालीमा बजार बन्द हुनुभन्दा १५ मिनेटअघि (२:४५ देखि ३:०० बजेसम्म) को कारोबार मूल्यका आधारमा सूचकको गणना गरिन्थ्यो।
यो विधिले बजारमा अनावश्यक उतारचढाव बढाएको भन्दै लगानीकर्ता र ब्रोकरहरूले निरन्तर विरोध जनाउँदै आएका थिए। यसमा केही प्राविधिक त्रुटिहरू पनि देखिएकाले हटाइएको नेप्सेले जनाएको छ।
अब नेप्से सूचकहरू पुरानै प्रणालीअनुसार केवल अन्तिम कारोबार मूल्यका आधारमा मात्रै गणना गरिनेछ। यो परिवर्तनले बजारमा स्थायित्व ल्याउने अपेक्षा गरिएको छ।


