तरुण खबर
५ आश्विन २०८२, आईतवार ११:२५
काठमाडाैं, ५ असाेज । नेदरल्याण्ड्सको हेग सहरमा आप्रवासन विरोधी प्रदर्शन हिंसात्मक बन्दा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। शनिबार भएको प्रदर्शनका क्रममा भएको झडपमा दुई प्रहरी घाइते भएका छन् भने ३० जना प्रदर्शनकारी पक्राउ परेका छन्।
लगभग १,५०० प्रदर्शनकारीले सहरको एउटा प्रमुख राजमार्ग अवरुद्ध पारेका थिए भने प्रहरीको एउटा गाडीमा आगजनी समेत गरिएको थियो। यस घटनालाई प्रधानमन्त्री डिक सुफले “लज्जास्पद हिंसाका डरलाग्दा र अनौठा दृश्य” भन्दै यसलाई “पूर्ण रूपमा अस्वीकार्य” भएको बताएका छन्।
यो प्रदर्शन आप्रवासन नीतिमा कडाइ गर्न र शरणार्थीहरूलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै एक दक्षिणपन्थी कार्यकर्ताले आयोजना गरेका थिए। आगामी अक्टोबर २९ मा हुने निर्वाचनको मुखमा यस्तो हिंसात्मक घटना भएको हो।
विपक्षी दलका दक्षिणपन्थी नेता गर्ट वाइल्डर्सलाई र्यालीलाई सम्बोधन गर्न निम्तो दिइएको भए पनि उनी सहभागी भएनन्। उनले पछि प्रहरीमाथि भएको आक्रमणको निन्दा गर्दै हिंसाका लागि ‘मूर्ख’हरूलाई दोष दिएका छन्।


