तरुण संवाददाता
५ आश्विन २०८२, आईतवार १४:१६
काठमाडौंँ । ‘मिष्टर नेपाल वर्ल्ड’को उपाधि ललितपुरका हिमाञ्चलराज केसीले जितेका छन् ।
शनिबार अबेर साँझ होटल सोल्टीमा आयोजित ग्राण्ड फिनालेमा उनले यो उपाधि हात पारेका छन् । ‘मिस्टर नेपाल’ भनेर चिनिँदा एकदमै खुसी लागेको केसीले बताए । उनले उपाधिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम उचो राख्ने जिम्मेवारी हात परेको धारणा राखे ।
तीन शीर्ष विजेता छानिएको प्रतियोगितामा भद्रपुर झापाका गिरिशरत्न शाक्य ‘मिष्टर ग्लोबल नेपाल’ र मोरङका प्रकाश चौहान ‘म्यान अफ द वर्ल्ड’ घोषित भए । विजेता शाक्य र चौहानले उपाधिले आफ्ना लागि नयाँ अवसरको ढोका खोलेको बताए । यो अवसर अन्तर्राष्ट्रिय प्लेटफर्ममा सदुपयोग गर्ने धारणा राखे ।
विजेताहरुले ‘मिस्टर वर्ल्ड २०२५’, ‘मिष्टर ग्लोवल २०२५’ र ‘म्यान अफ द वर्ल्ड ’ मा नेपालको प्रतिनिधित्वको अलवा पाँच लाख बराबरको पुरस्कार हात पारेका छन् ।
भब्य रनवेमा फेसनमय उल्लासकासाथ आयोजित प्रतियोगितामा २८ युवाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा मिष्टर मल्टिमिडिया र मष्ट एक्टिभ प्रकाश चौहान, मोष्ट ट्यालेन्ट विजय स्याङ्तान, बेष्ट फिजिक लक्ष्मणचन्द ठकुरी, मोष्ट पपुलर अस्टिन शेरचन, बेष्ट पर्सनालिटी हिमाञ्चलराज केसी, मिष्टर कमर्सियल आशिष गिरी, मोष्ट इन्टलेक्चयुल सक्रिय घिसिङ तामाङ, मिष्टर स्टाइल आइक निश्चिल मानन्धर, बेष्ट स्पोटम्यान दर्पणसिंह गिरी, मोष्ट क्रियटिभ सबल कटुवाल, जेन्टलम्यान वीथ प्रोपोस गिरिशरत्न शाक्य बनेका छन् ।
सबै प्रतियोगी स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणसहित फाइनमा उत्रिएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । प्रतियोगिताको कोरियोग्राफर तथा मेन्टरसिप प्रशान्त ताम्राकार थिए ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगिता पुरुषहरु सहभागी हुने नेपालकै ठूलो र प्रतिष्ठित भएको आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले बताइन् ।


