तरुण खबर
७ आश्विन २०८२, मंगलवार ११:३५
काठमाडाैं, ७ असाेज । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेन-जी आन्दोलनका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरूका लागि ‘रिफाइनान्सिङ’को व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भूकम्प वा कोभिड-१९ को समयको भन्दा अहिलेको समस्या फरक रहेको र यसलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताए।
मल्होत्राले अर्थतन्त्रलाई पुनरुत्थान गर्नका लागि उद्योगीहरूलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउनुपर्नेमा जोड दिए। यसका लागि राष्ट्र बैंकले बेस रेटमै कर्जा दिनुपर्ने उनको सुझाव छ।
पूँजी र जनशक्ति पलायन मुख्य चुनौती
मल्होत्राले अहिलेको समस्या दुई प्रकारको रहेको बताए। पहिलो, देशमा भएको पूँजी विदेश पलायन भइरहेको छ। दोस्रो, काम गर्न सक्ने दक्ष युवा जनशक्ति पनि विदेश पलायन भइरहेका छन्। उनले ११ लाखभन्दा बढी युवा वैदेशिक रोजगारी वा विद्यार्थी भिसामा विदेश गएको भन्दै यो जनशक्ति पलायन रोक्न सरकारले तत्कालै कदम चाल्नुपर्नेमा जोड दिए।
व्यवसायी असुरक्षित महसुस
जेन-जी आन्दोलनको क्रममा केही व्यवसायीको घरमा भएको तोडफोडको घटनाले व्यवसायीहरू असुरक्षित महसुस गरेको मल्होत्राले बताए। “उपलब्ध सम्पत्तिमाथि ‘यो कहाँबाट आयो’ भनेर तोडफोड गर्ने प्रवृत्तिले नेपालमा व्यवसायी सुरक्षित छैनन् भन्ने देखाउँछ,” उनले भने। उनले उद्योगीहरूले सरकारलाई कर तिरेर कमाएको सम्पत्तिमाथि यस्तो नकारात्मक टिप्पणी हुनु दुःखद भएको बताए।
अन्तमा, उनले उद्योगीलाई देशको अर्थतन्त्रको मेरुदण्डको संज्ञा दिँदै सरकारले उनीहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए।


