तरुण संवाददाता
८ आश्विन २०८२, बुधबार १०:३६
काठमाडौं । चाडपर्वलाई लक्षित गरी हेटौंडालाई काठमाडौसँग जोड्ने कान्ति लोकपथ हुँदै चल्ने सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनका लागि दुईवटा प्रस्थान बिन्दु तोकिएको छ भने, प्रवेश समयावधि पनि लम्ब्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार जारी गरेको सूचनाअनुसार असोज ७ गते मंगलबारदेखि कोजागत पूर्णिमा अर्थात् असोज २१ गते मंगलबारसम्म सवारी आवागमनमा नयाँ व्यवस्था लागू हुने भएको हो ।
निर्धारित मापदण्डअनुसार अधिकतम ३० टन भारवहन क्षमता र १० चक्कासम्मका सवारी साधन मात्रै कान्तिलोकपथ प्रयोग गर्न पाउने भएका छन् । यी सवारी साधनले तोकिएको प्रवेश वा प्रस्थान विन्दु बेलुका ९ बजेसम्म अनिवार्य रूपमा पुगिसक्नुपर्ने प्रशासनले स्पष्ट पारेको छ ।
यस अवधिमा कान्तिलोकपथ प्रयोग गर्ने सवारी साधनका लागि दुईवटा प्रवेश विन्दु तोकिएका छन् । मकवानपुरतर्फ बागमती गाउँपालिका वडा नम्बर २ वगुवा र ललितपुरतर्फ गोदावरी नगरपालिका वडा नम्बर ६ टीकाभैरव प्रवेश विन्दु कायम गरिएको हो ।


