काँग्रेसको १४औं महाधिवेशनमा आठ जना सभापतिका उम्मेदवार

काँग्रेसको १४औं महाधिवेशनमा आठ जना सभापतिका उम्मेदवार तरुण खबर १३ असार २०७८, आईतवार १०:२४
काँग्रेसको १४औं महाधिवेशनमा आठ जना सभापतिका उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेसका दोस्रो पुस्ताका तीन जना नेताहरुको भेटले राजनीतिमा तरङ ल्याएको छ । नेताहरू विमलेन्द्र निधि, शशांक कोराइराला र प्रकाशमान सिंह नेतृत्व पुस्तान्तरण गर्न एकमत भएकाले पनि १४औं महाधिवेसन प्रभावित हुने भएको छ । उपसभापति निधिको निवास बानेश्वरमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले रणनीतिक छलफल गरेका थिए ।

देउवा र पौडेल समूहमा रहेदै आएका निधि, कोइराला र सिंहले ‘लञ्च मिटिङ’बाट एकताको सन्देश दिन खोजेको सिंहको सचिवालयले जनाएको छ । दोस्रो भेट डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा भएको प्रचारमा ल्याइएको भए पनि सभापतिमा कसरी सहमति भयो भन्ने कुरा गोप्य नै राखिएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनलगायत समसामयिक विषयमा छलफल भएको र नेतृत्व पुस्तान्तरणमा एकमत भएको सिंहको सचिवालयले जनाएको छ । कांग्रेसका संस्थापक नेतात्रय बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका उत्तराधिकारीको छलफललाई राजनीतिक रुपमा अर्थपूर्ण ढंगले हेरिएको छ ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र प्रदश १ ले गरेको ‘कांग्रेसका वर्तमान चुनौती र १४औँ महाधिवेशन विषयक अन्तरक्रियामा निधिले पार्टीको भविष्य र आगामी निर्वाचनका लागि महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नु पहिलो विकल्प भएको बताउँदै १४ औँ महाधिवेशनमा सभापतिको दाबी गरिरहेका काँग्रेसका उपसभापति विमलेन्द्र निधिले गुटकै आधारमा पार्टीको चुनाव कसैले पनि नजितेको बताएका छन् ।

‘बिपीदेखि गिरिजाबाबुसम्मका उदाहरणहरू छन् । इतिहासको तथ्य साक्षी छ । गुटका आधारमा मात्रै कसैले पनि चुनाव जितेको छैन,’ निधिले दावी गरेका थिए । १४औं महाधिवेशनको नेतृत्व परिवर्तन मात्रै नभएर आसन्न आमचुनावका लागि वैचारिक, राजनीतिक र नीतिगत रूपमा कांग्रेसलाई तयार गर्नुपर्ने बताए ।

नेपाली काँग्रेसको १४औं महाधिवेसनमा सभापतिका लागि कम्तिमा सात–आठ जना उम्मेदवार देखिएका छन् । सर्वश्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा.शशांक कोइराला, डा.शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठलगायत छन् । अधिकांश सभापतिका उम्मेदवारहरु सम्पर्क कार्यालय समेत खोली सकेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालय पार्टी कार्यालयबाटै सञ्चालित छ भने महामन्त्री डा. शशांक कोइरालाको कार्यालय महाराजगञ्ज स्थित उनकै निवासबाट सञ्चालित छ । डा. कोइराला टोखास्थित घरमै बस्छन् । शेखर कोइराला र सुजाता कोइरालाको कार्यालय अनामनगरबाट सञ्चालित छ । १३औं महाधिवेसनमा सभापतिमा उठेका सिटौला, वर्तमान उपसभापति निधि र सिंहले आ–आप्नै निवासमा सचिवालय बनाएका छन् ।