तरुण खबर
८ आश्विन २०८२, बुधबार १२:२८
काठमाडाैं, ८ असाेज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिका क्रिकेटको सदस्यता तत्कालका लागि निलम्बन गरेको छ । आईसीसीले मंगलबार जारी गरेको एक विज्ञप्तिमा यो निर्णय ‘आईसीसीको संविधानअन्तर्गत सदस्यका रूपमा अमेरिका क्रिकेटले आफ्नो दायित्व बारम्बार उल्लंघन गरेको’ कारणले गरिएको हो भनिएको छ ।
विज्ञप्तिअनुसार, अमेरिका क्रिकेटको निलम्बनका मुख्य कारणहरूमा ‘प्रशासनिक संरचनालाई कार्यान्वयन गर्न नसक्नु’ र ‘संयुक्त राज्य ओलम्पिक र पाराओलम्पिक समिति (USOPC) बाट राष्ट्रिय गभर्निङ बडी (NGB) को मान्यता प्राप्त गर्न प्रगति नगर्नु’ समावेश छन् । यसका साथै, आईसीसीले अमेरिका क्रिकेटका केही कार्यले ‘विश्वभर क्रिकेटको प्रतिष्ठामा क्षति पुऱ्याएको’ पनि उल्लेख गरेको छ ।
निलम्बनको असर राष्ट्रिय टोलीलाई पर्ने छैन आईसीसीको निलम्बनले अमेरिकाका पुरुष र महिला राष्ट्रिय टोलीहरूको सहभागितामा कुनै असर पर्ने छैन । अमेरिकी पुरुष टोलीले आगामी फेब्रुअरीमा हुने टी-२० विश्वकपमा खेल्नेछ । टोलीको व्यवस्थापन अस्थायी रूपमा आईसीसीले हेर्नेछ ।
यसअघि, २०२४ को आईसीसीको वार्षिक साधारण सभामा अमेरिका क्रिकेटलाई ‘सर्तमा राखिएको’ थियो र त्यसका लागि आवश्यक सुधार गर्न १२ महिनाको समय दिइएको थियो । तर, उनीहरूले तोकिएको शर्त पूरा गर्न नसकेपछि निलम्बनको निर्णय गरिएको हो ।
आईसीसीले यो निर्णयलाई ‘खेलको दीर्घकालीन हितको रक्षा गर्नका लागि दुर्भाग्यपूर्ण तर आवश्यक कदम’ भनेको छ । परिषद्ले खेलाडी र खेललाई निलम्बनको असर पर्न नदिने कुरालाई आफ्नो प्राथमिकतामा राखेको पनि जनाएको छ ।


