कर्मचारीको दक्षता बढाउन सानिमा रिलायन्सको तालिम

कर्मचारीको दक्षता बढाउन सानिमा रिलायन्सको तालिम तरुण खबर ९ आश्विन २०८२, बिहीबार ११:४५
कर्मचारीको दक्षता बढाउन सानिमा रिलायन्सको तालिम

काठमाडाैं, ९ असाेज । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ।

“संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण“ विषयमा केन्द्रित यस तालिममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल लगायत मुख्य कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।

तालिममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पद्मप्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण र वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। यस्तै, सिनर्जी माइलस्टोनका प्रशिक्षकहरूले कार्यस्थलमा नैतिकता, नैतिक मापदण्ड र सहकर्मीहरूसँगको सम्बन्ध सुमधुर बनाउने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले तालिममा सिकेका ज्ञान र सीपलाई काममा लागू गर्न आग्रह गर्दै कम्पनीको हरेक तहमा सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिकाको पालना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस तालिमले कर्मचारीको कार्यदक्षता बढ्ने र आपसी सम्बन्धमा सुधार आउने विश्वास पनि व्यक्त गर्नुभयो।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हाल १६९ शाखा र उपशाखाहरू तथा १८ वटा योजनाहरूमार्फत जीवन बीमा सेवा दिइरहेको छ। कम्पनीमा २१,००० भन्दा बढी बीमा अभिकर्ताहरू आबद्ध छन्।