दशैँ बिदाको योजना: घुमफिरका लागि दर्जन उत्कृष्ट गन्तव्यहरू

दशैँ बिदाको योजना: घुमफिरका लागि दर्जन उत्कृष्ट गन्तव्यहरू तरुण खबर १० आश्विन २०८२, शुक्रबार ११:४१
दशैँ बिदाको योजना: घुमफिरका लागि दर्जन उत्कृष्ट गन्तव्यहरू

काठमाडाैं, १० असाेज । वडादशैँ नजिकिएसँगै लामो बिदा सदुपयोग गर्न गाउँ फर्किने र घुमफिरमा निस्कनेहरूको तयारी तीव्र बनेको छ। सफा मौसम र चाडपर्वको रमाइलो हावापानीका बीच यसपालिको दशैँ बिदालाई स्मरणीय बनाउन सकिने देशका दर्जनौँ उत्कृष्ट पर्यटकीय गन्तव्यहरूको चर्चा गरिएको छ। यी स्थानहरू जीवनमा एकपटक अवश्य पुग्नुपर्ने आकर्षक स्थल मानिन्छन्।

मुख्य आकर्षक गन्तव्यहरू:

१. प्राकृतिक सौन्दर्य र साहसिक गतिविधि:

  • पोखरा: नेपालकै सबैभन्दा लोकप्रिय गन्तव्य। प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्राफ्लाइट, बोटिङ, साइक्लिङ र हाइकिङका लागि उपयुक्त। विन्दावासिनीबाट देखिने सेता हिमालहरू यसको थप आकर्षण हुन्।
  • इलाम: ‘पहाडकी रानी’ को नामले परिचित। कन्याम, श्रीअन्तु, माईपोखरी, सन्दकपुर, सिद्धिथुम्का जस्ता क्षेत्रहरू हरियाली र छिन-छिनमा परिवर्तन हुने मौसमका लागि प्रसिद्ध छन्। यहाँ ९ हजार ५ सयदेखि १५ हजार रुपैयाँसम्मको प्याकेज उपलब्ध हुन्छ।
  • खप्तड: ‘स्वर्गको टुक्रा’ मानिने खप्तडमा विशाल २२ वटा पाटन र ५३ वटा थुम्काहरू छन्। खप्तड बाबाको कुटी, त्रिवेणी नदी र शिवमन्दिर जस्ता धार्मिक स्थलहरूले यसलाई प्रख्यात बनाएका छन्। यो बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थलमा पर्दछ।

२. पदयात्रा र हिमाल अवलोकन:

  • पून हिल: अन्नपूर्ण र धवलागिरी हिमालको सूर्योदय हेर्नका लागि सबैभन्दा उत्तम स्थान। पोखराबाट ५ दिनको पदयात्रा (घोरेपानी हुँदै) मा जान सकिन्छ। यसका लागि १० देखि २० हजार रुपैयाँसम्म खर्च लाग्ने अनुमान छ।
  • रारा ताल: मुगु जिल्लामा रहेको नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध ताल (करीब ४,००० मिटर उचाइ)। हवाई वा स्थल मार्ग (जुम्लाको खलङ्गा हुँदै) बाट पुग्न सकिन्छ।
  • पाथीभरा: ताप्लेजुङ्गमा ३ हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल। यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालु र ल्होत्से हिमालको दृश्यावलोकन गर्न सकिन्छ। मौसम सफा हुने भएकाले दशैँको समय दर्शनका लागि उपयुक्त मानिन्छ।

३. वन्यजन्तु र सांस्कृतिक अनुभव:

  • सौराहा (चितवन): चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने यो गन्तव्य हात्ती चढेर जंगल सफारी, राप्ती नदीमा डुंगा सयर र थारु सांस्कृतिक नाचका लागि लोकप्रिय छ।
  • बन्दीपुर (तनहुँ): ‘पहाडकी रानी’ भनिने यो ऐतिहासिक र प्राकृतिक गन्तव्यबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे्र लगायतका हिमशृंखलाहरू देख्न सकिन्छ।

४. धार्मिक तथा आध्यात्मिक स्थल:

  • लुम्बिनी: बुद्धको जन्मस्थल, मानसिक शान्ति, ध्यान र योगका लागि उपयुक्त। यहाँ मायादेवी मन्दिर, विभिन्न स्तूप र विश्व सम्पदा सूचीमा सूचीकृत बगैंचाको अवलोकन गर्न सकिन्छ।
  • मुक्तिनाथ (मुस्ताङ): हिन्दू र बौद्ध धर्मालम्वीहरूको प्रशिद्ध तिर्थस्थल (३,८०० मिटर उचाइ)। यहाँ १०८ धारा र २ वटा कुण्डमा स्नान गर्ने चलन छ। पछिल्लो समय काठमाडौँ र अन्य शहरबाट सोझै गाडी चढेर जान सहज भएको छ।

५. अन्य महत्त्वपूर्ण गन्तव्यहरू:

यी बाहेक भेडेटार (धनकुटा), स्वर्गद्वारी, कालिञ्चोक, शैलुङ, हलेसी महादेव, जनकपुरधाम, लोमान्थाङ, लाङटाङ, दुधकुण्ड ताल, घान्द्रुक, सिन्धुलीगढी, र ढोरपाटन पनि दशैँ बिदामा घुम्नका लागि उत्कृष्ट गन्तव्यहरू हुन्।