भाडा नतिरेपछि रास्वपाको ‘घण्टी घर’ खाली गर्न घरधनीको अल्टिमेटम

भाडा नतिरेपछि रास्वपाको ‘घण्टी घर’ खाली गर्न घरधनीको अल्टिमेटम तरुण खबर १० आश्विन २०८२, शुक्रबार ११:४९
भाडा नतिरेपछि रास्वपाको ‘घण्टी घर’ खाली गर्न घरधनीको अल्टिमेटम

काठमाडाैं, १० असाेज । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला ‘बेघर’ हुने अवस्थामा पुगेको छ। काठमाडौँको बालाजु बनस्थलीमा रहेको पार्टीको केन्द्रीय कार्यालयको घरधनीले लामो समयदेखि भाडा नपाएको र राजनीतिक जोखिम बढेको भन्दै भवन छिट्टै खाली गर्न आग्रह गरेका छन्।

रास्वपाले भरतमणि देवकोटाको स्वामित्वमा रहेको घर भाडामा लिएर ‘घण्टी घर’ नामले ब्रान्डिङ गरेको थियो।

लामो समयदेखिको बक्यौता:

  • घरधनी देवकोटाले विगत १० महिनादेखिको मासिक ३ लाख ५० हजार रुपैयाँका दरले घर भाडा पाएका छैनन्, जसले गर्दा भाडा बक्यौता ३५ लाख रुपैयाँ पुगेको छ।
  • यसका साथै, उनले पार्टीलाई सापटी दिएको ठूलो रकम पनि फिर्ता पाउन सकेका छैनन्।

पद र राजनीतिक जोखिम:

पार्टी सभापति रवि लामिछाने प्रहरी अनुसन्धानमा तानिएपछि पार्टीभित्र आन्तरिक विवाद र लेणदेनको अपारदर्शिता बढेको भन्दै विरोध सुरु भएको छ। घरधनी देवकोटाले भाडा उठ्ने सम्भावना कम हुँदै गएको र घर राजनीतिक प्रतिशोधको शिकार बन्न सक्ने जोखिम देखेर घर खाली गर्न ‘बोल्ड निर्णय’ लिएका हुन्।

देवकोटालाई रास्वपाले ‘अनुशासन आयोगको प्रमुख’ पद दिएको थियो, जुन ‘सेरेमोनियल’ मात्र थियो र उनी विदेशमा रहेका कारण कार्यवाहक प्रमुखले काम गरिरहेका छन्। रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटालाई विज्ञ सल्लाहकारका रूपमा सिंहदरबार पनि लगिएको थियो। तर, रवि सरकारबाट हटेपछि देवकोटाको ‘पैसाको हिसाबकिताब’ गडबड हुन थालेको बताइएको छ।

यद्यपि, रास्वपाले भने कार्यालय सार्ने वा घर खाली गर्ने विषयमा कुनै औपचारिक जानकारी दिइसकेको छैन।