तरुण खबर
१२ आश्विन २०८२, आईतवार १२:०५
काठमाडाैं, १२ असाेज । यस वर्षको दशैंको मुख्य अवधिमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग (DHM) ले विशेष बुलेटिन जारी गर्दै जानकारी दिएको छ।
विभागका अनुसार अष्टमी (सेप्टेम्बर ३०) देखि दशमी (अक्टोबर २) सम्म देशका धेरैजसो क्षेत्रमा पानी पर्ने सम्भावना छ। यद्यपि, लगातार ठूलो वर्षा भने नहुने तर छिटपुट वर्षाको सम्भावना रहने उल्लेख छ। यस वर्ष मनसुनको प्रभाव दशैंभरि कायम रहने भएकाले यस्तो मौसमी गतिविधि देखिएको विभागको भनाइ छ।
कुन दिन कहाँ पानी पर्छ?
| तिथि (मिति) | चाडको दिन | सम्भावित मौसम |
| सेप्टेम्बर ३० | अष्टमी | बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। कोशी प्रदेशका पहाडी तथा तराईका केही भागमा पनि वर्षा हुने। |
| अक्टोबर १ | नवमी | कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। |
| अक्टोबर २ | दशमी | मनसुन केही सक्रिय हुने। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना। कोशी प्रदेशका पहाडी तथा तराईका साथै मधेश र सुदूरपश्चिमका सीमित क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने। |
सावधानी: दशमीका दिन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने विभागले चेतावनी दिएको छ।
मनसुन सामान्यतया अक्टोबर २ को आसपासमा नेपालबाट बाहिरिने भए पनि यस वर्ष मनसुनको प्रभाव कायम रहँदा दशैंको मौसम प्रभावित हुने भएको हो। विभागले चाडपर्वका लागि यात्रा गर्ने यात्रुहरूलाई हरेक दिनको मौसम पूर्वानुमान र बाटोको अवस्था हेरेर मात्र यात्रा गर्न विशेष आग्रह गरेको छ।


