चार्टर्ड विमानबाट यात्रु काठमाडौँ आउँदै

चार्टर्ड विमानबाट यात्रु काठमाडौँ आउँदै तरुण खबर २० आश्विन २०८२, सोमबार ०९:१४
चार्टर्ड विमानबाट यात्रु काठमाडौँ आउँदै

काठमाडाैं, २० असाेज । भारी वर्षाका कारण सडक यातायात बन्द भएपछि भैरहवामा अलपत्र परेका यात्रुहरूलाई आज (सोमबार) चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याइँदैछ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत आज दिउँसो पाैने ३ बजे यात्रुहरूलाई काठमाडौँ ल्याउन लागिएको हो।

कसलाई दिइनेछ प्राथमिकता?

आजको उडानमा बिरामी, अध्ययन तथा रोजगारीका लागि विदेश जान टिकट लिइसकेका यात्रु र पर्यटकहरूलाई प्राथमिकता दिएर काठमाडौँ पठाइनेछ।

यी यात्रुहरूलाई वास्तवमा आइतबार नै ल्याउने भनिए पनि तयारी नपुगेकोले आजका लागि सारिएको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आग्रहमा निगमको १५८ सिट क्षमताको जहाजमार्फत आइतबार राति ८ बजे भैरहवाबाट काठमाडौँ पठाउने तयारी गरिएको थियो। तयारी पूरा नभएपछि उडान आज दिउँसोका लागि तय भएको हो।