तरुण खबर
१६ असार २०७८, बुधबार १०:३१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार पुनः भेटघाट र छलफल भएको छ । हिजो मंगलबार सिंह निवास चाक्सीबारीमा छलफल शुरू भएको हो ।
यसअघि पार्टीका उपसभापतिको निवास नयाँ बनेश्वर र महामन्त्री डा. कोइरालाको निवास महराजगञ्जमा उनीहरुबीच छलफल भएको थियो । कांग्रेसमा पारिवारिक लिगेसी मात्र होइन पार्टीमा धेरै पसिना बगाएका निधि, पछिल्लो समय केही लगानी गरेका कोइराला र १९९७ सालदेखि पार्टीका लागि महत्वपूर्ण योगदान दिएका गणेशमान सिंहका छोरा प्रकाशमान सिंहबीचको निरन्तरको छलफलले पार्टीभित्र तरंग ल्याएको छ ।
शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा हुन् भने विमलेन्द्र महेन्द्रनारायण निधिका र प्रकाशमान गणेशमान सिंहका छोरा हुन् । तीन नेता सहित काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायत सभापतिमा उठ्ने तयारी भएको छ । यद्यपी काँग्रेसका सभापति शेरबहादुर देउवा नै तुलनात्मक रुपमा बलिया छन् ।
कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय उपसभापति निधि, महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहबीच लञ्च मिटिङले निरन्तरता पाएको छ । उपसभापति निधि निवासबाट सुरु भएको लञ्च मिटिङ कोइराला निवास हुँदै हिजो चाक्सीबारीमा भएको हो । आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी तीनै जनाले सहमतीमा नेतृत्व चयन गर्ने गरी छलफललाई निरन्तरता दिएका छन् ।
पार्टीभित्र फरक–फरक समूहमा रहेका शशांक, विमलेन्द्र र प्रकाशमानको निरन्तरको छलफललाई कतिपयले नयाँ समीकरण निर्माणका रुपमा पनि लिएका छन् । निधि संस्थापक समूहमा छन् भने कोइराला र सिंह संस्थापनइतर समूहका नेता हुन् । कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरिएको छ ।


