तरुण संवाददाता
२२ आश्विन २०८२, बुधबार १६:४९
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि असोज ३० गते राजनीतिक दललाई बोलाएको छ ।
आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधरले जानकारी दिइन् ।
आयोगले नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दललाई पत्राचार गरेको जनाएको छ ।
आयोगले असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको आन्तरिक कामको योजनाका लागि भएकाले निर्वाचन कार्यक्रमलगायत विषयमा राजनीतिक दलको छलफलपछि निर्णय लिइने आयुक्त डा.तुलाधरले बताइन् ।
निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्नुअघि कुनै छलफल नगरेको भन्दै दलहरूले आपत्ति जनाएका थिए । त्यसपछि आयोगले बुधबार दलहरूलाई छलफलका लागि पत्राचार गरेको हो ।


