तरुण खबर
२३ आश्विन २०८२, बिहीबार ०९:२०
काठमाडाैं, २३ असाेज । सरकारले देशमा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न तथा आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै नागरिकलाई अपिल गरेको छ।
गृह मन्त्रालयले बुधबार (असोज २२ गते) एक प्रेस वक्तव्य जारी गर्दै आफ्ना राय र विचारहरू शान्तिपूर्ण रूपमा व्यक्त गर्न र विरोधका कार्यक्रमहरूलाई अहिंसात्मक ढङ्गले सञ्चालन गर्न सार्वजनिक रूपमा आग्रह गरेको छ।
मन्त्रालयका सह-सचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको वक्तव्यमा भनिएको छ, “सरकारले सधैँ नागरिकका सरोकार, हित र मागहरूलाई संवाद तथा छलफलबाट सम्बोधन गर्न सकारात्मक रहेको छ।” मन्त्रालयले कुनै पनि समस्या वा मागलाई प्रदर्शन तथा जुलुस गर्नुअघि वार्ता र परामर्शमार्फत समाधान गर्न पनि अनुरोध गरेको छ।
नयाँ सरकार गठन भएपछि मुलुकमा शान्ति सुरक्षा बहाली गर्ने तथा कानुन व्यवस्थालाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताउँदै वक्तव्यमा २०८२ चैत ५ गते का लागि निर्धारित निर्वाचनको लागि अनुकूल वातावरण सिर्जना गर्न काम भइरहेको उल्लेख छ।
गृह मन्त्रालयले शान्ति सुरक्षा कायम राख्नु र निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नु सबै सरोकारवाला निकाय र नागरिकहरूको साझा जिम्मेवारी भएकोमा जोड दिएको छ।


