तरुण खबर
१६ असार २०७८, बुधबार १०:३७
काठमाडौं । जुन व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण भएको छ, उसले कोरोना विरुद्धको खोप लगाउँनु ठिक हुन्छ कि हुँदैन ? हुन्छ भने कति डोज खोप लगाउँनु पर्छ ? अधिकांशको जिज्ञाषा हुन सक्छ । सर्वसाधारणको मात्र होइन, वैज्ञानिक समुदायमा समेत बहस चलेको थियो । तर पश्चिमा देशहरुमा भएको नयाँ अध्ययनले एकपटक कोरोना जितिसकेका मानिसहरूका लागि खोपको एउटै डोज नै पर्याप्त हुने दाबी गरिएको छ । अर्थात्, कोरोना संक्रमित भएर त्यसबाट मुक्त भएका मानिसहरुले खोपको एक डोज लगाए पुग्छ ।
फाइजर र मोर्डना खोपमाथि गरिएको अनुसन्धानमा संक्रमण भएका व्यक्तिले एक मात्रा खोप लगाए पनि उसलाई कोरोनाभाइरसको संक्रमण हुँदैन । ‘नेचर जर्नल’ प्रकाशित एक शोध रिपोर्टका अनुसार फाइजर एवं मोडर्ना खोपको प्रभाव देखिएको हो । संक्रमित भएको व्यक्तिले दोस्रो डोज खोपलेभन्दा पहिलो डोज खोपले प्रभावकारी काम गर्ने बताइन्छ ।
फ्रान्स, इटली, जर्मनी समेत केही देशले कोरोना भाइरसको संक्रमित भैसकेका व्यक्तिलाई एक डोज खोपको मात्र सिफारिस गर्ने गरिएको छ । न्यूयोर्क स्थित रोकफिलर यूनिभर्सिटीको शोधका अनुसार संक्रमण नभएका व्यक्तिले खोप लगाउँदा बी–सेल मेमोरी दश गुणाभन्दा बढी रिकर्ड भएको देखिएको छ भने संक्रमण भएपछि लगाइएको खोपले ५० गुणा बढी बी–सेल मेमोरी र न्यूट्रीलाइजिङ्ग एन्टिबडी ज्यादा पाइएको छ ।
त्यसैले संक्रमण भैसकेका व्यक्तिलाई पहिलो डोज खोप नै काफी भएको विज्ञहरुले बताएका छन् । यदी भविष्यमा भाइरसले फेरी शरीरलाई हमला ग¥यो भने त्यसलाई पहिचान गर्ने र प्रतिरोध प्रणालीलाई सचेत गराउने काम बी सेल्सले गर्छ, ताकि प्रतिरोध प्रणालीले भाइरसलाई समाप्त गर्नका लागि किलर सेल्स बनाउन सुरु गरोस् ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२९, जुन) मा १७ लाख ६८ हजार ८ जनाको नमुना परीक्षण गर्दा ४५ हजार ६९९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २८, जुनमा २१ लाख ६ हजार १७८ जनाको नमुना परीक्षण गर्दा ३७ हजार ३७ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२९, जुन) मा कोरोनाभाइरसको संक्रमणबाट ८१६ जनाको निधन भएको छ । २८, जुनमा कोरोनाभाइरसको संक्रमणबाट ९०७ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असार १६ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ३ लाख ६१ हजार ६९९ जना छन् । भारतमा २ करोड ९४ लाख १९ हजार ४९७ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ४३ हजार ७१८ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (मंगलबार) मा ६० हजार २८९ जना कोरोना मुक्त भएका छन् । असार १६ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ३ लाख ९८ हजार ४८४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


