तरुण खबर
२४ आश्विन २०८२, शुक्रबार १०:१८
काठमाडाैं, २४ असाेज । नेपालमा विद्युतीय सवारी साधन (EV) को माग तीव्र रूपमा बढेसँगै ब्याट्री उत्पादन गर्ने एशियन ब्याट्री कम्पनी (Asian Battery Company) ले आफ्नो व्यापारमा उल्लेख्य सुधार गरेको छ। कम्पनीले एक वर्षको अवधिमा नै २० प्रतिशतभन्दा बढी व्यापार वृद्धि गर्न सफल भएको छ।
सन् २०२५ को अन्त्यसम्ममा एशियन ब्याट्रीले ६२ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ। यो व्यापार सन् २०२४ मा भएको ५१ करोड ७० लाख रुपैयाँको तुलनामा २०.११ प्रतिशतले बढी हो।
पाँच वर्षमा तीन गुणाले बढ्यो कारोबार
सन् २०१२ मा स्थापित एशियन ब्याट्रीको कारोबार पछिल्लो पाँच वर्षमा झन्डै तीन गुणाले बढेको देखिन्छ।
नाफाको ग्राफ पनि उकालो
व्यापार वृद्धिसँगै कम्पनीको खुद नाफाको ग्राफ पनि लगातार सुधारिएको छ। गत आर्थिक वर्षमा कम्पनीले ३.३९ प्रतिशत खुद नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष यो नाफा २.३२ प्रतिशत मात्रै थियो।
विराटनगरस्थित उद्योगले विद्युतीय सवारी साधन, अटोमोटिभ र ट्युबलर ब्याट्रीहरू उत्पादन गर्दै आएको छ। कम्पनीले वार्षिक ५४ मेट्रिक टन उत्पादन क्षमतासहित आवश्यक कच्चा पदार्थको करिब ७० प्रतिशत आन्तरिक बजारबाटै आपूर्ति गर्ने रणनीति अपनाएको छ, जसले उत्पादन लागत घटाउन सहयोग पुगेको छ।


