विदेशी शक्तिसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै सुदन गुरुङको आपत्ति

विदेशी शक्तिसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै सुदन गुरुङको आपत्ति तरुण खबर २६ आश्विन २०८२, आईतवार ११:१६
विदेशी शक्तिसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै सुदन गुरुङको आपत्ति

काठमाडाैं, २६ असाेज । ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङले आफ्नो अभियानलाई विदेशी शक्ति र ‘फ्रि तिब्बत’ आन्दोलनसँग जोड्ने प्रयासप्रति कडा आपत्ति जनाएका छन्। उनले यो प्रयास आफ्नो प्रतिष्ठामाथि दुर्भावनापूर्ण प्रहार गर्ने नियोजित चाल भएको बताएका छन्।

केही जेनजी प्रदर्शनकारीहरूले ‘TOB’ लेखिएको कालो टी-शर्ट लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि गुरुङले फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै ‘संगठित साइबर समूह’ले योजनाबद्ध रूपमा भ्रामक सूचना फैलाएको दाबी गरेका छन्।

“अब अति भयो,” गुरुङले लेखेका छन्, “अरूलाई खुट्टा तान्ने प्रवृत्ति हाम्रो समाजबाट कहिल्यै हटेको छैन। अहिले साइबर सेनाले नयाँ रूपमा आफ्नो खेल सुरु गरेको छ।”

भाइरल तस्बिरमा देखिएको ‘TOB’ अक्षरलाई केही व्यक्तिहरूले ‘Tibetan Origin Brotherhood’ भनी व्याख्या गर्दै यसलाई ‘फ्रि तिब्बत’ अभियानसँग जोड्ने प्रयास गरेका थिए।

गुरुङले ती दाबीहरूको पूर्ण रूपमा खण्डन गर्दै आफ्नो पहलमा कुनै पनि विदेशी शक्ति, आईएनजीओ वा राजनीतिक समूह संलग्न नरहेको स्पष्ट पारेका छन्।

गुरुङका अनुसार, ‘हामी नेपाल’ एक गैर-सरकारी संस्था (NGO) नभई एक गैर-नाफामूलक संस्था (NPO) हो, जसले आर्थिक योगदानभन्दा वस्तुगत (in-kind) योगदान लाई प्राथमिकता दिन्छ। “हामीलाई एनजीओको मोडल मन परेन, त्यसैले हामीले एनपीओको रूपमा काम गर्ने छनोट गर्यौं,” उनले स्पष्टीकरण दिएका छन्।