उचाइका कारण बिरामी परेपछि उपल्लो मुस्ताङका पर्यटकलाई स्वास्थ्य सावधानी अपनाउन लोमान्थाङ गाउँपालिकाको आग्रह

उचाइका कारण बिरामी परेपछि उपल्लो मुस्ताङका पर्यटकलाई स्वास्थ्य सावधानी अपनाउन लोमान्थाङ गाउँपालिकाको आग्रह तरुण खबर २७ आश्विन २०८२, सोमबार ११:५९
उचाइका कारण बिरामी परेपछि उपल्लो मुस्ताङका पर्यटकलाई स्वास्थ्य सावधानी अपनाउन लोमान्थाङ गाउँपालिकाको आग्रह

काठमाडाैं, २७ असाेज । उपल्लो मुस्ताङ घुम्न आउने पर्यटकमा लेक लाग्ने (High Altitude Sickness) समस्या बढेपछि लोमान्थाङ गाउँपालिकाले स्वास्थ्य सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। दशैं, तिहार लगायतका चाडपर्वपछि पर्यटकको संख्या बढेसँगै गाउँपालिकाले यस्तो आग्रह गरेको हो।

गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जारी गरेको सूचनामा उपल्लो मुस्ताङ क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएको र उच्च उचाइका कारण भ्रमणमा आएका पर्यटकहरू बिरामी पर्न थालेको उल्लेख छ। विशेषगरी, यस सिजनमा नेपाल–चीन सिमाना कोरला नाका र उपल्लो मुस्ताङका उच्च भेगमा पुग्ने पर्यटकमा उचाइको समस्या देखिएको हो।

अध्यक्ष गुरुङका अनुसार दशैं लगत्तै उपल्लो मुस्ताङमा पर्यटकको आगमन बढेकाले लेक लाग्ने स्वास्थ्य जटिलतालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको हो।

गाउँपालिकाले सीमित स्रोत साधनका बाबजुद पनि बिरामी पर्यटकहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जनाएको छ। साथै, उचाइको समस्याले गम्भीर बिरामी परेका पर्यटकहरूलाई उपचारका लागि जोमसोमस्थित प्रदेश अस्पतालसम्म पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा समेत उपलब्ध गराइएको गाउँपालिकाले जानकारी दिएको छ।

लोमान्थाङ गाउँपालिकाले यस विषम परिस्थितिमा पर्यटकहरूलाई आफ्नो स्वास्थ्यको पूर्ण ख्याल राख्दै सुरक्षित यात्रा गर्न विनम्र अनुरोध गरेको छ।