राष्ट्र बैंकद्वारा थप ३५ अर्ब रुपैयाँ बजारबाट तान्ने, तरलता व्यवस्थापन प्रयास जारी

राष्ट्र बैंकद्वारा थप ३५ अर्ब रुपैयाँ बजारबाट तान्ने, तरलता व्यवस्थापन प्रयास जारी तरुण खबर २९ आश्विन २०८२, बुधबार ११:०३
राष्ट्र बैंकद्वारा थप ३५ अर्ब रुपैयाँ बजारबाट तान्ने, तरलता व्यवस्थापन प्रयास जारी

काठमाडाैं, २९ असाेज । वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहेपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) फेरि थप ३५ अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ ।

केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण (Deposit Collection) को माध्यमबाट ४ दिनका लागि उक्त निक्षेप संकलन गर्न लागेको हो ।

प्रक्रिया र शर्तहरू:

  • बोलकबोल समय: अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजे निक्षेप संकलनका लागि बोलकबोल हुनेछ र आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।
  • परिपक्वता मिति: संकलित निक्षेपको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी कार्तिक २ गते हुनेछ ।
  • आवेदन सीमा: इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाँदा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
  • सहभागी: निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
  • ब्याजदर: बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ र बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने सुविधा राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकले केही समयदेखि बजारमा रहेको अत्यधिक तरलतालाई व्यवस्थापन गर्न विभिन्न मौद्रिक उपकरणहरू प्रयोग गर्दै आइरहेको छ ।