ओलीको आरोप: ‘गृहमन्त्रीको व्यवहारमै सरकारको मनोवृत्ति देखिन्छ’

ओलीको आरोप: ‘गृहमन्त्रीको व्यवहारमै सरकारको मनोवृत्ति देखिन्छ’ तरुण खबर ५ कार्तिक २०८२, बुधबार १९:१६
ओलीको आरोप: ‘गृहमन्त्रीको व्यवहारमै सरकारको मनोवृत्ति देखिन्छ’

काठमाडाैं, ५ कार्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नाप्रति व्यक्तिगत वैरभाव देखाएको आरोप लगाएका छन्।

बुधबार भक्तपुरको बालाकोटस्थित आफ्नै घरमा आगजनीको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले सरकारका नीतिहरू पीडितको पक्षमा नभई अपराधीको संरक्षणमा केन्द्रित रहेको बताएका हुन्।

उनले भने, “गृहमन्त्रीले दिएको अन्तर्वार्ताबाटै उहाँको संस्कार, उद्देश्य र सोच स्पष्ट देखिन्छ। सरकारको मनोवृत्ति, सोच र गन्तव्य त्यही अन्तर्वार्ताबाट प्रस्टै बुझिन्छ। गृहमन्त्रीको नियत पूर्ण रूपमा प्रकट भएको छ।”

ओलीले सरकारकै निर्देशनमा तोडफोड र लुटपाट हुने वातावरण सिर्जना भइरहेको दाबी गरे। उनका अनुसार, सरकारले पीडितहरूलाई सहयोग गर्नुको सट्टा उल्टै उनीहरूप्रति शत्रुतापूर्ण व्यवहार गरेको छ।

“गृहमन्त्रीको शत्रुता पीडितहरूप्रति मात्र होइन, व्यक्तिगत रूपमा मेरोतर्फ पनि देखिन्छ,” उनले भने। “मैले त उनीहरूको सीमासम्म पनि पार गरेको छैन, घर कहाँ पर्छ भन्ने पनि मलाई थाहा छैन।”

ओलीले सरकारको मनसायप्रति गम्भीर शंका व्यक्त गर्दै भने, “सरकारले अहिले ‘जेन जेड’ भनेर चिनिने युवाहरूसम्मलाई बोलाएर दबाब सिर्जना गर्न लगाएको छ। उनीहरूलाई भनिन्छ—‘हामीमाथि दबाब देऊ, गाली गर, प्रतिनिधि बनाएर आउ, अनि हामी भनौं कि दबाबका कारण यस्तो कारबाही गर्नुपर्‍यो’। यो सरकारको योजनाबद्ध गतिविधि हो।”

उनले यस घटनाले सरकार कुनै ठूलो षड्यन्त्रको तयारीमा रहेको संकेत दिएको दाबी गरे। ओलीको भनाइअनुसार, “सरकार आफैंले युवाहरूलाई प्रयोग गरेर वातावरण बनाउँदैछ र त्यसको बहानामा विपक्षीहरूलाई नियन्त्रण गर्ने योजना बनाउँदैछ।”