तरुण खबर
५ कार्तिक २०८२, बुधबार १९:३१
काठमाडाैं, ५ कार्तिक । अन्तर–व्यवस्थापिका सङ्घ (IPU) को १५१औँ महासभामा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभामा रहेका राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलहरूसँग द्विपक्षीय भेटघाट गरेका छन्।
अध्यक्ष दाहालले चीन, बेलायत र श्रीलङ्काका संसदीय टोलीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।
चीन, बेलायत र श्रीलङ्काका टोलीसँग भेट
सो क्रममा अध्यक्ष दाहालले IPU को एसिया-प्रशान्त समूहका अध्यक्ष क्सेईजुन टियानको नेतृत्वमा रहेको चिनियाँ संसदीय प्रतिनिधिमण्डल, फेबियन ह्यामिल्टनको नेतृत्वमा रहेको बेलायती प्रतिनिधिमण्डल र सुनील वाटागालाको नेतृत्वमा रहेको श्रीलङ्काली प्रतिनिधिमण्डलसँग भेटघाट गरे।
सबै भेटघाटमा आपसी सम्बन्धलाई थप सुदृढ गर्ने, संसदीय मैत्री समूहहरूमार्फत संसदीय अनुभवहरू आदानप्रदान गर्ने तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहयोग र सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो।
‘जेन जी’ आन्दोलन र निर्वाचनबारे जानकारी
अध्यक्ष दाहालले प्रतिनिधिमण्डलहरूलाई नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराए। उनले हालै भएको ‘जेन जी’ आन्दोलन, त्यसपछि बनेको अन्तरिम सरकार र आगामी निर्वाचनको घोषणाबारे ब्रिफिङ गरे।
नेपाल निर्धारित समयमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई थप सुदृढ गर्न प्रतिबद्ध रहेको बताउँदै उनले आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माण र स्वच्छ तथा निष्पक्ष निर्वाचन सुनिश्चित गर्न मित्र राष्ट्रहरूलाई सहयोग गर्न आग्रह गरे।
जलवायु परिवर्तनको मुद्दा
भेटका क्रममा अध्यक्ष दाहालले नेपाली जनताले प्रत्यक्ष रूपमा भोगिरहेको जलवायु परिवर्तनको असरबारे प्रकाश पार्दै विकासोन्मुख राष्ट्रहरूलाई जलवायु सङ्कटका चुनौतीहरू सम्बोधन गर्न विश्व समुदायबाट थप सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।


