तरुण खबर
५ कार्तिक २०८२, बुधबार १९:३४
काठमाडाैं, ५ कार्तिक । काठमाडौँको मुटुबाट सुरु भएको ‘जेन जी’ आन्दोलनले नेपालको समग्र पर्यटन बजारलाई एकै झट्कामा ठूलो धक्का दिएको छ। कोभिड महामारी, आर्थिक मन्दी र राजनीतिक अस्थिरताबाट तङ्ग्रिन लागेको नेपाली पर्यटन उद्योगमा गत भदौ २३ र २४ गतेको हिंसात्मक आन्दोलन चौथो ठूलो संकट बनेको छ।
‘पिक सिजन’मै होटल अकुपेन्सी ३०% मा झर्यो
दशैं–तिहारको बिदा र सेप्टेम्बर-नोभेम्बरको ‘पिक सिजन’मा नेपाली होटलहरूमा ८० प्रतिशतसम्म बुकिङ हुने अपेक्षा थियो। तर, जेन जी आन्दोलनको प्रत्यक्ष असरले अहिले होटल अकुपेन्सी २५ देखि ४० प्रतिशतको हाराहारीमा झरेको होटल व्यवसायीहरूले बताएका छन्।
२५ अर्ब लगानीमा धक्का
होटल संघ नेपाल (HAN) का अनुसार करिब २५ अर्ब रुपैयाँ बराबरको होटल लगानीमा आन्दोलनको सीधा असर परेको छ। विशेषगरी राजधानीको पाँचतारे हिल्टन होटलमा मात्रै करिब ८ अर्ब रुपानीयाँको ठूलो लगानीमा क्षति पुगेको छ। सिजनमा लगानी बढाएका होटल व्यवसायीहरू अहिले व्यवसाय ठप्प भएपछि चिन्तित बनेका छन्।
व्यवसायीको सुझाव: तत्काल राहत र प्रवर्द्धन आवश्यक
पर्यटन व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा फैलिएको नकारात्मक सन्देशले आगामी महिनासम्म पनि पर्यटक आगमन सुस्त बनाउने चिन्ता छ। यस संकटलाई सम्बोधन गर्न उनीहरूले तत्कालै सरकारी स्तरमा राहत र प्रवर्द्धनका लागि कदम चाल्नुपर्ने सुझाव दिएका छन्।
कोभिडपछिको पुनरुत्थानको आशामा रहेका नेपाली पर्यटन व्यवसायीहरू जेन जी आन्दोलनबाट आएको यो चौथो आघातलाई सामूहिक प्रयासबाट अवसरमा बदल्न सके मात्रै नेपालको पर्यटन पहिचान फेरि विश्वमाझ चम्काउन सकिने विश्वास गर्छन्।


