तरुण खबर
७ कार्तिक २०८२, शुक्रबार १०:१६
काठमाडाैं, ७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बहुप्रतिक्षित भेटवार्ता यही अक्टोबर ३० मा दक्षिण कोरियामा हुने भएको छ। व्हाइट हाउसले एसिया प्रशान्त आर्थिक सहयोग (APEC) शिखर सम्मेलनको साइडलाइनमा यो भेटवार्ता हुने पुष्टि गरेको छ।
लामो समयदेखि अपेक्षित यो भेट विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार र प्रविधिमा गहिरिँदै गएको तनावका कारण केही हप्तादेखि अनिश्चित बनेको थियो। ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि यी दुई नेताबीच यो पहिलो प्रत्यक्ष भेट हुनेछ।
मुख्य एजेन्डामा व्यापार: दक्षिण कोरियाको ग्योङजुमा अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म हुने एपेक शिखर सम्मेलन सुरु हुनुअघि यो द्विपक्षीय वार्ता तय भएको हो। छलफलमा व्यापारले ठूलो प्राथमिकता पाउने अपेक्षा गरिएको छ।
राष्ट्रपति ट्रम्पले हालै चीनले दुर्लभ खनिजको निर्यातमा लगाएको प्रतिबन्ध कम नगरे नोभेम्बरबाट चिनियाँ वस्तुहरूमा थप १०० प्रतिशत महसुल लगाउने धम्की दिएका छन्।
क्षेत्रीय भ्रमणको तालिका: ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले बिहीबार दिएको जानकारी अनुसार, यो भेटवार्ता “राष्ट्रपति ट्रम्पको निष्पक्ष व्यापार र क्षेत्रीय स्थायित्वप्रतिको प्रतिबद्धतालाई जोड दिन्छ।” उनले यो उच्चस्तरीय भेटका लागि महिनौंदेखि तयारी भइरहेको पुष्टि गरिन्।
दक्षिण कोरियाको यो भ्रमण राष्ट्रपति ट्रम्पको बृहत् एशिया भ्रमणको एक हिस्सा हो, जसमा यसै आइतबार मलेशियामा हुने आसियान (ASEAN) शिखर सम्मेलनमा उनको सहभागिता पनि समावेश छ।


