तरुण खबर
९ कार्तिक २०८२, आईतवार १०:४१
काठमाडाैं, ९ कार्तिक । कोशी प्रदेशको प्रसिद्ध धार्मिक गन्तव्य पाथीभरा मन्दिरमा शनिबार सिजनकै सबैभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन ६ हजार ३ सय ९३ जना भक्तजन मन्दिर पुगेका छन्।
यो सङ्ख्या यस सिजनकै एकै दिनमा दर्शन गर्ने भक्तजनको सबैभन्दा ठूलो भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। ठूलो संख्यामा भक्तजनको आगमन भएपछि दर्शनका लागि बिहान ३ बजेदेखि दिउँसो ३ बजेसम्म लामो लाइन लागेको थियो।
पाथीभरा मन्दिरमा वर्षभरि नै तीर्थयात्रीहरू पुग्ने गरे पनि दसैँ-तिहारको समयमा भक्तजनको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने गर्दछ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार गत असोज महिनाभरमा २९ हजार १ सय ७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए। उहाँले आज (आइतबार) बिहानैदेखि पनि पाथीभरामा दर्शनार्थीको ठूलो घुइँचो लागेको जानकारी दिनुभयो।
हाल पाथीभरा दर्शनका लागि मौसम अनुकूल रहेको र चाडपर्वका कारण पनि भक्तजनको भीड बढेको बताइएको छ।


