तरुण खबर
२२ असार २०७८, मंगलवार ०९:१९
काठमाडौं । ८ करोड ४० लाख ५४ हजार ३७१ जनसंख्या भएको जर्मनीले कोभिड–१९ का कारण बेलायत, नेपालसहित अन्य तीन राष्ट्रका यात्रुहरूमा लगाएको प्रतिबन्ध यही बुधबारदेखि हटाउँने भएको छ । पोर्चुगल, रुस र भारतका नागरिकहरूमा समेत लागु गरिएको प्रतिबन्ध बुधवारबाट हटाइने भएको हो ।
जर्मनीमा कोरोनाभाइरसका संक्रमितको कुल संख्या ३७ लाख ३८ हजार ८४३ जना छन् । २०७८ साल असार २२ गते मंगलबार बिहान ८ बजेसम्ममा कुल संक्रमितमध्ये ९१ हजार ५९५ जनाको मृत्यु भैसकेको छ । पूर्ण रूपमा खोप प्राप्त गरिसकेका मानिसहरू जर्मनी पुगेपछि क्वारन्टीनमासमेत बस्नु नपर्ने बताइएको छ । खोप नलगाएका मानिसहरूले भने १० दिनसम्म क्वारन्टीनमा बस्नुपर्ने छ ।
तर उनीहरूले पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारन्टीनबाट बाहिरिन पाउने छन् । हालसम्म यी पाँच राष्ट्रहरूलाई डेल्टा भेरिअन्ट र डेल्टा प्लस भेरिअन्ट फैलिएका कारण ’’भाइरस भेरिअन्ट एरियाज’’का रूपमा वर्गीकरण गरिएको थियो । उक्त भेरिअन्ट सुरुमा भारतको महाराष्ट्रमा पहिचान भएको थियो ।
जर्मनीका नागरिक र बासिन्दाहरूमाथि प्रतिबन्ध लागु नगरिएको भए पनि उनीहरू जर्मनी प्रवेश गर्दा १४ दिन क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो । यी पाँच राष्ट्रहरूलाई अब ’’हाइ इन्सिडेन्स एरियाज’’ अर्थात् सङ्क्रमितहरूको संख्या अझै उच्च रहेको देशका रूपमा वर्गीकृत गरिने त्यहाँको एक निकायले जनाएको छ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो देशमा कोभिडसम्बन्धी नियमहरू जुलाई १९ तारिखबाट हटाउने आफूहरूले अपेक्षा गरिरहेको पुष्टि गरेको केही घण्टामा जर्मनीले प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पार्ने बताएको हो ।
अबको दुई सातामा इङ्गल्यान्डमा सामाजिक दुरी कायम गर्ने र मास्क लगाउनुपर्ने नियम हटाइने अपेक्षा गरिएको छ । बेलायतका प्रधानमन्त्री जोनसनले खोप कार्यक्रमले नयाँ सङ्क्रमण र मृत्युबीचको सम्बन्ध तोडिदिएको बताएका छन् । तर डाउनिङ स्ट्रीटमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा महामारी अन्त्य भई नसकेको र थप मानिसहरूको मृत्यु हुने उनले बताएका थिए ।


