तरुण खबर
२२ असार २०७८, मंगलवार ०९:२८
काठमाडौं । कोरोनाभाइरसको डेल्टा भेरियन्ट विरुद्ध खोप लगाएका व्यक्तिमा आठ गुणा कम असर हुने अनुसन्धनमा देखिएको छ । खोप लगाएका र नलगाएका व्यक्तिको तुलनामा खोप लगाएका व्यक्तिको इम्यूनिटी पावर आठ गुणा बढी हुने विज्ञहरुले बताएका छन् । रिसर्च स्क्वायरका अनुसार डेल्टा भेरियन्टको पहिचान सबभन्दा पहिले महाराष्ट्रमा भएको थियो । त्यपछि भारतका विभिन्न ठाउँमा देखिएको थियो । तर अहिले विश्वका एक सयभन्दा बढी मुलुकमा फैलिसकेको छ ।
संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (५, जुलाई) मा १५ लाख २२ हजार ५०४ जनाको नमुना परीक्षण गर्दा ३४ हजार ६७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ४, जुलाईमा १८ लाख ३८ हजार ४९० जनाको नमुना परीक्षण गर्दा ४० हजार ३८७ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (५, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ५५२ जनाको निधन भएको छ । ४, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको निधन भएको थियो ।
नेपाली समय अनुसार असार २२ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ६ लाख १८ हजार ९३९ जना छन् । भारतमा २ करोड ९७ लाख ४४ हजार ८३१ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ७० हजार ७९८ जना छन्, यो संख्या पनि क्रमशः घट्दै गएको छ । पछिल्लो २४ घण्टा (सोमबार) मा ५१ हजार ८४५ जना कोरोना मुक्त भएका छन् । असार २२ गते मंगलबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख ३ हजार ३१० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।


