वर्षा को कारण हुने भु-क्षय लाई न्यूनिकरण गर्नका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ।

वर्षा को कारण हुने भु-क्षय लाई न्यूनिकरण गर्नका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ। तरुण खबर १४ कार्तिक २०८२, शुक्रबार २२:४४
वर्षा को कारण हुने भु-क्षय लाई न्यूनिकरण गर्नका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ।

काठमाडौं, २०८२ कार्तिक १४

नेपालको मनसुन फेरि सक्रिय भएकाे छ, तर धेरैका लागि यो केवल वर्षाको मौसम होइन, किसानहरू बाली भित्राउने चटाराेमा छन्। पहाडदेखि तराईसम्म किसानहरू फेरि डराइरहेका छन् “यो  झरीले फेरि बारी बगाउँछ कि?” देशभरको बारीहरूमा देखिने माटो क्षयको समस्या अहिले केवल प्राकृतिक विषय रहेन, यो अब सामाजिक, आर्थिक र वातावरणीय संकटको रूपमा विकसित भएको छ।

नेपालमा वर्षाको समय भनेको उत्पादनको आशा र विनाशको भय सँगसँगै बाँच्ने समय हो। बर्खाको पहिलो झरीसँगै खेतहरूमा हरियाली पलाउँछ, तर त्यही पानीले पहाडका खेतबारी भत्काउँछ, खोलामा माटो बगाउँछ र तल तराईका फाँटहरूमा बाढी ल्याउँछ। यो विडम्बना हो  जसले देशको कृषि प्रणालीलाई निरन्तर चुनौती दिइरहेको छ।

कृषि विभागकाे तथ्याङ्कअनुसार, नेपालमा हरेक वर्ष करिब १२ टन माटो प्रति हेक्टर जमिनबाट बग्ने अनुमान गरिएको छ। यो माटो कुनै साधारण धुलो होइन, यही माटोमा नेपालको ६५ प्रतिशत जनसंख्या निर्भर छ।

वातावरणविद् डा. मीना श्रेष्ठ भन्छिन्,

“बर्‍षा आफैं दोषी होइन, दोष हामीले बनाएको असन्तुलित प्रणाली हो। जब माटो समात्ने वनस्पति हटाइन्छ र जमिन खुला राखिन्छ, पानीले आफ्नो बाटो बनाउँछ अनि त्यो बाटो सधैं विनाशको माध्यम बन्न पुग्छ।”

नेपालको भू–आकृति, जलवायु र मानव क्रियाकलाप  यी सबैले मिलेर माटो क्षयको दर बढाएका छन्। हिमाल, पहाड र तराई तीन भौगोलिक क्षेत्रमध्ये प्रत्येकको समस्या फरक भए पनि कारण एउटै छ पानीको व्यवस्थापनको कमी र प्राकृतिक सन्तुलनमा मानविय हस्तक्षेप।

बर्‍षाको असमानता र बाढीकाे पीडा

नेपालको वर्षा प्रणाली अनियमित र असमान बन्दै गएकाे छ। जलवायु परिवर्तनका कारण कहिले अत्यधिक वर्षा हुन्छ, कहिले लामो सुख्खा। यस्तो अनिश्चित वर्षा वितरणले खेतीको तालमेल बिगार्दछ र माटो क्षय तीव्र बनाउँछ।

स्याङ्जाका किसान हरि थापा भन्छन्,

“पहिले बर्खामा पानी बिस्तारै पर्‍थ्यो, अहिले एकैछिनमा आकाश फुटेजस्तो पानी पर्छ। त्यो पानीले खेत मात्रै होइन, आशा पनि बगाउँछ।”

अचानकको भारी वर्षाले सतही बगान (surface runoff) बढाउँछ। माटोको माथिल्लो तहमा रहेका कार्बन र जैविक तत्व पानीसँगै बग्छन्, जसले माटोको उर्वरता घटाउँछ। लामो समयसम्म यस्तो क्षय हुँदा जमिन बाँझो बन्छ।

भू–आकृति र मानव हस्तक्षेप

नेपालको ७५ प्रतिशत भू–भाग ढलानयुक्त कङ्किटले भरिएकाे छ। यस्तो ठाउँमा यदि माटो समात्ने वनस्पति छैन भने वर्षाको पानी सिधै बग्छ।

पहाडी खेतबारीमा भलकाटी पानीकाे निकास नबनाउँदा क्षय अझ बढ्छ। तर अहिले धेरै ठाउँमा परम्परागत खेत तथा बारीकापाटाहरू सडक र घर निर्माणका कारण नष्ट भएका छन्।

सडक विस्तार, बस्ती विस्तार, अनियन्त्रित ढलान कटान र वन फडानी यी सबैले प्रकृतिको सन्तुलन बिगारेका छन्। विकासका नाममा गरिएको योजनाविहीन निर्माणले माटो क्षयमा ठूलो योगदान दिएको छ।

खासगरी सडक निर्माणमा ड्रेनेज र नालीको उचित योजना नभएकाले वर्षा हुँदा ती सडकहरू नै बग्ने खोला बन्छन्।

वन फडानी र चरनको दबाब

वनस्पति नै माटोको प्राकृतिक कवच हो। तर नेपालमा वन फडानी अझै पनि गम्भीर समस्या हो।

काठ, दाउरा र बस्ती विस्तारका लागि रुख काट्दा जमिन खुला रहन्छ।

त्यसपछि पानी पर्दा माटो पानीसँगै बग्छ र तल नदीमा जम्मा हुन्छ।

चरनमा अत्यधिक पशु चराउँदा पनि माटोको सतह कडा हुन्छ र पानी सोस्ने क्षमता घट्छ।

लमजुङकी किसान मञ्जु गुरुङ बताउँछिन्,

“पहिले हाम्रा वरिपरि घाँस र झाडीले बारी ढाकिएको हुन्थ्यो। अहिले खुला भयो। एकपटक पानी परेपछि सारा माटो तल पुग्छ, अनि हामी माथि ढुंगामात्र बाँकी।”

तराईमा क्षय र बाढीको दोहोरो संकट

तराई क्षेत्रमा समस्या फरक छ। यहाँ भारी वर्षापछि पहाडबाट आएको माटो, बगर र ढुंगाले खेत थुपारिन्छ।

तराईको बारी वर्षाको पानीले डुबाउँछ, जसले बिरुवा सडाउँछ र उत्पादन घटाउँछ।

खासगरी कोशी, बबई र नारायणी नदी क्षेत्रका बारीहरूमा बाढीले उर्वर माटो धोइदिएको उदाहरण प्रशस्त छन्।

नेपाल कृषि अनुसन्धान परिषद (NARC) काे एक प्रतिवेदन अनुसार, तराईका २० जिल्लामा प्रत्येक वर्ष औसत ५० हजार हेक्टर खेतीयोग्य जमिन बाढी र क्षयबाट प्रभावित हुन्छ।

पर्यावरणीय प्रभाव

माटो क्षयको असर केवल खेतीमा सीमित छैन।

१. नदी अवसादन: माटो बगेर नदीमा जम्मा हुँदा तल्लो भागमा अवरोध हुन्छ र बाढीको जोखिम बढ्छ।

२. जैविक विविधताको ह्रास: माटोमा बसोबास गर्ने कीरा, जीवाणु, फफूंदी र जरा प्रणाली नष्ट हुन्छ।

३. जलवायु असन्तुलन: वन फडानीले हरितगृह ग्यास बढाउँछ, जसले वर्षा चक्र नै बिगार्छ।

४. खाद्य सुरक्षा संकट: माटो उर्वरता घट्दा उत्पादन घट्छ र खाद्यान्न अभाव हुन्छ।

डा. मोहन बराल भन्छन्,

“नेपालको माटो क्षयको समस्या यदि तुरुन्त सम्बोधन गरिएन भने २० वर्षभित्र हाम्रो कृषि आत्मनिर्भरता गुम्नेछ। अहिले नै हामी आयातमा निर्भर भइसकेका छौं।”

जनजीवनमा परेको असर

माटो क्षयले गाउँका किसानको दैनिकी बदलिएको छ। पहाडमा खेतीयोग्य जमिन घट्दै जाँदा युवा जनशक्ति वैदेशिक रोजगारमा जान बाध्य छन्। बारी बगेर उत्पादन घट्दा ग्रामीण अर्थतन्त्र कमजोर हुँदै गएको छ।

स्याङ्जाकी ६० वर्षीया पार्वती परियार भन्छिन्,

“पहिले हाम्रो बारीले तीन महिनाको अन्न दिन्थ्यो। अहिले एकपटक झरी पर्छ, बारी आधा बग्छ। अनि हामी किनमेल गरेर खन बाद्य छौ।”

त्यसैले माटो क्षय अब केवल प्राकृतिक घटना होइन, ग्रामीण जीवनको सामाजिक समस्या पनि हो। उत्पादन घट्दा ऋण बढ्छ, खाद्य आयात बढ्छ र समुदायहरू विस्थापित हुन थाल्छन्।

सरकारी नीति र कमजोरी

नेपाल सरकारले विगतमा विभिन्न कार्यक्रमहरू चलाएको छ — जस्तै Integrated Watershed Management Program, Community Forestry, Land Conservation Program आदि। तर ती कार्यक्रमहरू प्रायः कागजमै सीमित छन्।

स्थानिय तहहरूले बजेट त छुट्याउँछन् तर दीर्घकालीन योजना बनाउँदैनन्।

वातावरण मन्त्रालयका एक अधिकृत भन्छन्,

“हामीले परियोजना बनाउँछौं तर अनुगमन हुँदैन। संरक्षणका नाममा बोट रोपिन्छ तर हेरचाह हुँदैन। अर्को वर्ष  फेरि बग्छ।