प्रजातान्त्रिक मूल्यमा विश्वास गर्ने युवाको ‘डेमोक्रेटिक जेनजी फोरम’ गठन; राष्ट्रिय हित र लोकतन्त्र रक्षाको प्रतिबद्धता

प्रजातान्त्रिक मूल्यमा विश्वास गर्ने युवाको ‘डेमोक्रेटिक जेनजी फोरम’ गठन; राष्ट्रिय हित र लोकतन्त्र रक्षाको प्रतिबद्धता तरुण खबर १६ कार्तिक २०८२, आईतवार १०:०७
प्रजातान्त्रिक मूल्यमा विश्वास गर्ने युवाको ‘डेमोक्रेटिक जेनजी फोरम’ गठन; राष्ट्रिय हित र लोकतन्त्र रक्षाको प्रतिबद्धता

काठमाडाैं, १६ कार्तिक । प्रजातान्त्रिक मूल्यमान्यतामा विश्वास राख्ने युवाहरूको नयाँ सङ्गठनका रूपमा ‘डेमोक्रेटिक जेनजी फोरम’ गठन भएको छ। संयोजक सुरेन्द्र भण्डारी को समन्वयमा आइतबार घोषणा गरिएको यस फोरमले देशभरका प्रजातान्त्रिक विचार राख्ने युवाहरूलाई एक साझा मञ्चमा ल्याउने लक्ष्य राखेको छ।

फोरमले आफ्नो स्थापनाको उद्देश्य राष्ट्रिय सार्वभौमसत्ता, प्रजातान्त्रिक मूल्य, समावेशिता, सङ्घीयता, गणतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता र न्यायपालिकाको स्वतन्त्रता को रक्षा गर्न समर्पित युवाहरूलाई एकीकृत गर्नु रहेको बताएको छ। यसले यी प्रजातन्त्रका आधारस्तम्भहरूलाई कमजोर पार्ने कुनै पनि बहाना वा षड्यन्त्रको प्रतिवाद गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

प्रमुख लक्ष्य तथा प्रतिबद्धता:

  • मूल्य मान्यतामा जोड: राष्ट्रिय सार्वभौमसत्ता, प्रजातान्त्रिक मूल्य, समावेशीता, सङ्घीयता, गणतन्त्र र प्रेस स्वतन्त्रताको रक्षा गर्ने।
  • कमजोरीको समीक्षा: संयोजक भण्डारीका अनुसार फोरमले विगतका कमजोरीको समीक्षा गर्दै गल्तीहरू दोहोर्‍याउनबाट जोगिने र प्रजातन्त्रलाई परिपक्व तथा परिष्कृत ढङ्गले अगाडि बढाउने लक्ष्य लिएको छ।
  • विस्तारको योजना: प्रजातन्त्रमा विश्वास राख्ने जेनजी युवाहरूलाई राष्ट्रव्यापी रूपमा सङ्गठित गर्नका लागि सबै सात प्रदेश र ७७ वटै जिल्लामा संयोजकहरू नियुक्त गर्ने तयारी भइरहेको छ।

कार्यसमितिमा देशभरका युवा:

फोरमको कार्यसमितिमा देशका विभिन्न भूगोलबाट युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। कार्यसमितिमा पुजन चाम्लिङ राई (इलाम), ऋषा थापा (ललितपुर), सरोज विष्ट (अछाम), विशाल शाही (हुम्ला), कुम्भराज सहकारी देउवा (कालिकोट), जनक साउद (दैलेख), लक्ष्मीप्रसाद पौडेल (पोखरा), महेन्द्र कुँवर, रमेश न्यौपाने (दैलेख), सुनिता मल्ल (मुगु), सतेन्द्र यादव, विनोद उपाध्याय (धादिङ), र निरञ्जन रोहिता (धनुषा) लगायतका युवाहरू रहेका छन्।

डेमोक्रेटिक जेनजी फोरमको यो गठनले हालै देशको राजनीतिक समीकरणमा देखिएको युवा आक्रोश (जेनजी आन्दोलन) लाई संस्थागत तथा वैचारिक आधार दिने प्रयासका रूपमा हेरिएको छ।